बंगलादेशको शानदार जित, वेष्ट इन्डिजसँग ३ सय २२ रनको लक्ष्य सजिलै पुरा

लन्डन- इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटमा बंगलादेशले सोमबार वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ। बंगलादेशले तीन सय २२ रनको लक्ष्य  ४१ ओभर तीन बलमा तीन विकेट गुमाएर पुरा गर्‍यो।

बंगलादेशको जितमा सकिब अल हसनले सतक बनाए। उनले अविजित एक सय २४ रन बनाए। लिटन दास पनि ९४ रनमा अविजित रहे। सकिबले लगातार दोस्रो खेलमा सतक बनाएका हुन्। सकिब र लिटनले चौथो विकेटका लागि  एक सय ८९ रनको साझेदारी गरे।

विज्ञापन

सकिबले ९९ बलमा १६ चौका हिर्काए। लिटनले ६९ बलमा चार छक्का र ८ चौका हिर्काए। प्रारम्भिक ब्याट्सम्यान तामिम इकबालले ४८ र सौम्य सरकारले २९ रन जोडे। बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो।

बंगलादेश पाँच खेलबाट पाँच अंक जोडेर पाँचौँ स्थानमा छ। त्यसअघि वेष्ट इन्डिजको पालीमा साइ होपले ९६, एर्भिन लेविसले ७० र हेटमेयरले ५० रन जोडेका थिए। वेष्ट इन्डिजको पाँच खेलबाट तीन अंक छ। दुई विकेट समेत लिएका सकिब प्लेयर अफ दी म्याच घोषित भए।

बंगलादेशले एकदिवशीय विश्वकप क्रिकेटमा यसअघि पनि तीन सय २२ रनको लक्ष्य पुरा गरेको थियो। विश्वकप क्रिकेटमा तीन सय २२ रनभन्दा बढी रनको लक्ष्य केवल एउटा टोलीले मात्र पुरा गरेको छ।

 

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्