हुम्ला दुर्घटना

नदीमा खसेको जिप देखिएको छैन, खोज्दैछौँ: प्रहरी

फाइल तस्बिर

हुम्ला – हुम्लाको खार्पुनाथमा मंगलबार दिउँसो कर्णाली नदीमा खसेको जिप अझै भेटिएको छैन । जिपमा झण्डै १० जना सवार रहेको बताइएको छ । यात्रुको अवस्थाबारे थाहा हुन सकेको छैन । प्रहरी उद्धारमा खटिएको छ ।

अहिलेसम्म जिप र जिपमा सवार व्यक्तिहरु नदेखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

‘जिप खसेको हो, १० जना सवार भनिएको छ तर अहिलेसम्म केही फेला पार्न सकिएको छैन, हामी खोजी कार्य गरिरहेका छौँ’ उनले भने ।

खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा मंगलबार दिउँसो सडकबाट तल कर्णाली नदीमा खसेको हो ।

जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब १० जना यात्रु रहेको बताइएको छ ।

सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

असार ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्