आफूलाई संसदमा बोल्न नदिएकामा प्रधानमन्त्री ओली आक्रोशित- ‘यस्तो कहिँ पनि हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले समसामयिक विषयमा संसदलाई जानकारी गराउन खोज्दा रोक्ने प्रचलन कहिँ पनि नहुने भन्दै दुख प्रकट गरेका छन्।

प्रधानमन्त्रीलाई बोल्न नदिने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिल्यै आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहिँ पनि नहुने प्रधानमन्त्रीले भने।

प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले मंगलबार साँझ प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेका छन्। विज्ञहरुको रायसल्लाह र सरोकारवालाहरुको सुझाव लिनुपर्ने भएका कारण भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक फिर्ता लिएर ‘वाइज डिसिजन’ गरेको उनले बताए।

आफूभन्दा फरक दल सत्तामा आउँदा लोकतान्त्रिक दलले स्वीकार गर्नुपर्ने उनले बताए। ‘आज देखिएको परिस्थितिले लोकतान्त्रिक अभ्यास अघि जान सक्दैन,’ उनलेे भने।

लोकतन्त्रका तमाम हकहरुप्रति सरकार सचेत रहेको उनले बताए। मानवअधिकार र स्वतन्त्र प्रेसप्रति आफ्नो सरकार प्रतिबद्ध भएको उनले जानकारी गराए।

‘यो सरकार देश बनाउने अभिभारा बोकेर यही अभियानमा संलग्न छ,’ उनले भने।

उनले आफ्नो युरोप भ्रमण  फलदायी भएको उल्लेख गर्दै नेपाल र बेलायतको सम्बन्ध अझ सुदृढ भएको दाबी गरे। आफ्नो भेटघाट र भ्रमणले नेपालको हित बढेको जानकारी गराए।

फ्रान्समा प्रधानमन्त्री, संसदीय कमिटीका अध्यक्षलगायतसँग भेटेर आपसी सम्बन्ध सुदृढ बनाएको उनले दाबी गरे। आइएलओको बैठकमा पनि फलदायी बैठकहरु भएको उनले बताए।

गुठी संस्थानले राम्ररी काम गर्न नसकेका कारण गुठी प्राधिकरण गठन गर्न विधेयक ल्याएको उनले बताए। सम्पदा संरक्षण अहिलेको सरकारको दायित्व रहेको पनि उनले बताए।

‘तर प्राधिकरणले गुठी सञ्चालन गर्ने भनेर भ्रमपूर्ण कुरा गरिएको छ,’ उनले भने।

गुठी विधेयकलाई अनावश्यक रुपमा उछालिएको उनले बताए।

उनले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र फेरि कसैलाई नबुझाउन पनि प्रतिपक्षी कांग्रेसलगायत आन्दोलनकारीहरुलाई चेतावनी दिए।

 

 

 

 

 

 

असार ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्