पूर्वबाट चाँडै भित्रिँदै मनसुन

फाइल तस्बिर

काठमाडौँ – देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभावका तथा पूर्वको सीमा क्षेत्रमा पूर्वी वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताए । केही ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने र अहिलेसम्म पनि त्यस्तो अवस्था नआएकाले ढिलाइ भएको हो । तर पूर्वबाट बिस्तारै पूर्वी वायुको प्रभाव देखिन थालेको छ । नेपालमा मनसुन भित्र्याउने पूर्वी वायु हो ।

मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।

बुधबार बेलुका या बिहीबारसम्ममा पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । आफूहरुले अनुगमन गरिरहेको र केही मनसुनी गतिविधि देखिएको उनले बताए ।

पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्य तिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्नेछ, किनकी सो क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव कम भएको छैन । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष ९ दिन ढिला भइसकेको छ ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्