हुम्लामा जिप दुर्घटना

कर्णाली नदीमा बेपत्ताको खोजबिन गर्न गोताखोरको टोली हुम्ला आउँदै

हुम्ला ,याङ्चु – कर्णाली नदीमा मंगलबार बोलेरो जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौँबाट गोताखारको टोली आउने भएको छ ।

कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौँबाट गोताखोरको टोली आउन लागेको हो ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाडौँबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर बिहानै हुम्ला आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

आवश्यक सामग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली आउन लागेको उनको भनाई छ । मंगलबार दिउँसो साढे बाह्र बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभाबालु क्षेत्रमा जिप कर्णाली नदीमा खसेको हो ।

आफन्त बेपत्ता भएपछि शोकमग्न आफन्त । तस्बिर : राजन रावत/हुम्ला

गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता भएकी छन् । त्यसैगरी बेपत्ता हुनेमा गाडी चालक सिमकोट ८ निबासी मणी शाही, खार्पुनाथ ४ निबासी चन्द्र हमाल, नैन सिंह भण्डारी वडा नम्बर ५ की बसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेबी सिंह खार्पुनाथ १ पिउसकी कौर दमाई र नाम नखुलेका उनका दुई वर्षे छोरा र काठमाडौँ थानकोट निबासी वल्डिङ मास्टर राजु श्रेष्ठ रहेका छन् ।

जिप खसेको स्थान कर्णाली भन्दा २५ देखि ३० मिटर माथि रहेको छ । बुधबार बिहानसम्म केही पनि पत्ता लागेको छैन । जिपमा अरु पनि यात्रु हुन सक्ने तर उनीहरुको बारेमा कुनै जानकारी भएको छैन ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्