जब विराटनगर विमानस्थलमा धुवाको मुस्लो देखियो…

मोरङ– विराटनगर विमानस्थलमा अवतरण भएको हवाइजहाजमा आगो लागेपछि उद्धारकर्मीहरुको भागदौड मच्चियो।

सबैजना आगलागी भएको स्थलतर्फ उद्धारका लागि पुगे। कसैको हातमा बेल्चा, बाल्टी र विमानमा लागेको आगो निभाउनका लागि वारुणयन्त्रको टोली पनि पुग्यो। हेर्दाहेर्दै विमानलाई आगोको लप्काले काबुमा पार्यो।

बुधबार बिहान काठमाडाैँबाट पर्वतीय दृष्यावलोकनका लागि अरनिको एयरलाइन्सले उडान भरेको थियो। सोही उडानका क्रममा जहाजको ईन्जिनमा खराबी आएपछि विराटनगर विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था श्रृजना भएको थियो।

आपतकालीन अवतरण गराउँदा हुनसक्ने जोखिम न्यूनीकरणका लागि विमानस्थलमा सबै कुरालाई तयारी अवस्थामा राखिएको थियो। सोही क्रममा बिहान ८ बजे विराटनगर विमानस्थलमा चालक दलका सदस्यसहित ५४ जना बोकेको जहाजमा अवतरण भएको केही मिनेटमै आगो सल्किएको थियो।

विमानमा लागेको आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी एवं रेडक्रसकर्मीहरु व्यस्त देखिए। उद्धारकर्मीले घटनामा परेका घाइतेहरुलाई उद्धार गर्दै एम्बुलेन्समा राख्न थाले। घाइतेलाई विमानस्थल नजिक रहेको नावेल शिक्षण अस्पतालमा पुराउन व्यस्त भए।

धेरै समयमा आगो नियन्त्रणमा आए पनि जहाजको धेरै जसो माग जलिसकेको थियो। दुर्घटनामा चार जना यात्रुको मृत्यु, २० जना गम्भीर एवं १५ जना मध्यम र १५ जना सामान्य घाइते भएको जानकारी दिइयो। घाइतेहरुको नावेल शिक्षण अस्पताल र हाम्रो अस्पतालमा उपचार भइरहेको विमानस्थलले जनायो। घटनाका बारेमा प्रत्येक पाँच मिनेटको अन्तरमा विमानस्थलले जानकारी गराइरहेको थियो।

सम्पूर्ण दृष्य विमानस्थलको एकछेउबाट प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, मोरङ जिल्लाका प्रमुख अधिकारी रमेश केसी, जिल्लाका प्रहरी प्रमुख विश्व अधिकारी गम्भीर भएर नियालिरहेका थिए।

दुर्घटनाको समयपछि घटनाको विषयमा जानकारी दिँदै विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यासका लागि गरिएको बताउँदा त्यसपछि भने धेरैले लामो सास फेरेका थिए।

विमानस्थल भित्र जहाज दुर्घटना भएमा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि उद्धारको स्तर र क्षमतालाई बढाउन अभ्यास गर्ने गरिएको सिटौलाले उपस्थित सबैलाई जानकारी गराएकाे उनको भनाइ छ।

‘यसप्रकारको अभ्यासले हाम्रो स्तर र क्षमता कस्तो छ भन्ने कुरालाई बल पराउने गर्छ’, सिटौलाले भने, ‘कुनै अप्रिय घटना भइहाले उद्धार क्षमता बढाउन पनि मद्दत गर्छ।’

पूर्व सूचना विना गरिएको अभ्यासका कारण विमानस्थल वरिपरिको वातावरण त्रासपूर्ण बनेको थियो। विमानस्थल वरपरका बासिन्दा भने त्रसित भएका थिए।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्