विराटनगरमा ज्ञानेन्द्र बने सद्भावना दुत

विराटनगर :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई बिराटनगरस्थित कोशी बहुमुखी क्याम्पसले पाँच वर्षका लागि सद्भावना दुतमा नियुक्त गरेको छ।

बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रममा उप–कप्तान मल्ल र क्याम्पसबीच सद्भावना दूतका लागि अनुबन्ध पत्रमा हस्ताक्षर भयो। हस्ताक्षरपछि बोल्दै मल्लले बिराटनगरमा क्रिकेट प्रतियोगिता न्यून हुदै गएकोमा चिन्ता ब्यक्त गरे। उनले भने, ‘ विगतमा बिराटनगरमा क्रिकेटको जुन किसिमको प्रभाव हुने गर्थ्यो त्यसमा कमी आउदै गएको छ। तथापि यहाँको क्रिकेटको साख फर्काउन सक्दो प्रयास गर्नेछु।’

कोशी बहुमुखी क्याम्पसका निर्देशक मनिष सोनीले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा हात पारेको ठूला सफलतासँगै मल्लले टोलीलाई पुराउँदै आएको योगदानका आधारमा उनलाई सद्भावना दूत नियुक्त गरिएको बताए।

यस क्याम्पसमा भलिबल, क्रिकेट र टेबुलटेनिसका राष्ट्रियस्तरका खेलाडीहरु अध्ययनरत छन्।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्