सुध्रिएन मनाङको प्रदर्शन, अबहानीविरुद्ध पहिलो हाफमा २-० गोलले पछाडि

काठमाडौं- एसियन फुटबल कन्फेडेरेसन-एएफसी कपअन्तर्गत पहिलो चरणको आफ्नो पाँचौँ खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब अहिले बंगलादेशको अबहानी लिमिटेडसँग भिडिरहेको छ।

बंगलादेशमा भइरहेको यस खेलको पहिलो हाफ समाप्तीमा मनाङ २-० गोलले पछाडि छ। अबहानीले ११ औँ मिनेटमा अग्रता लिएको थियो। उसले इन्जुरी समयमा अग्रता दोब्बर बनायो। प्रतियोगितामा चार खेल खेलसकेको मनाङले एक जित पनि हात पार्न सकेको छैन।

विज्ञापन

सुरुका दुई खेल हारेको मनाङ पछिल्ला दुई खेलमा बराबरीमा रोकिएको थियो। प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु मैदानमा अबहानीविरुद्ध उत्रिएको मनाङ १-० गोलले पराजित भएको थियो।  दोस्रो खेलमा चेन्नइनसँग २-० गोलले पराजित भएको थियो। त्यसयता उसले मिनर्भासँग २-२ र १-१ गोलको बराबरी खेलेको हो।

यो खेलमा जिते हात पारेपनि मनाङ दोस्रो चरण पुग्ने सम्भवना लगभग समाप्त भईसकेको छ। समूह ‘इ’मा रहेको मनाङ चार खेलबाट दुई अंक जोडेर चौथो तथा अन्तिम स्थानमा छ। शीर्षस्थानमा रहेको चेन्नइनको पाँच खेलबाट ८ अंक छ। पाँच खेल खेलेको आई लिग च्याम्पियन मिनर्भाले अघिल्ला चारवटै खेलमा पनि बराबरीको नतिजा निकालेको थियो।

दोस्रो स्थानको अबहानीको चार खेलबाट सात अंक छ। होम एन्ड अवे आधारमा सन्चालन भइरहेको समूह चरणको प्रतिस्पर्धाअन्तर्गत शीर्ष टोली दोस्रो चरण पुग्ने छ।

 

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्