एएफसी कप : मनाङको कमजोर प्रदर्शन, बंगलादेशको अबहानीसँग ५-० ले पराजित

काठमाडौं- एसियन फुटबल कन्फेडेरेसन-एएफसी कपअन्तर्गत पहिलो चरणको आफ्नो पाँचौँ खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशको अबहानी लिमिटेडसँग ५-० गोलको पराजय ब्यहोरेको छ।

बंगलादेशमा बुधबार साँझ सम्पन्न खेलको पहिलो हाफमा २-० गोलले अगाडि रहेको अबहानीले मध्यान्तरपछि तीन गोल थप्यो।  अबहानीले ११ औँ मिनेटमा अग्रता लिएको थियो। उसले पहिलो हाफको  इन्जुरी समयमा अग्रता दोब्बर बनायो। उसले ६३ , ७५  औँ मिनेट र इन्जुरी समयमा गोल थपेको थियो। प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु मैदानमा अबहानीविरुद्ध उत्रिएको मनाङ १-० गोलले पराजित भएको थियो।  सुरुका दुई खेल हारेको मनाङ पछिल्ला दुई खेलमा बराबरीमा रोकिएको थियो।

प्रतियोगितामा पाँच खेलसकेको मनाङ दुई अंकसहित समूहको चौथो तथा अन्तिम स्थानमा छ। यो हारपछि मनाङ दोस्रो चरण नपुग्ने पनि निश्चित भएको छ। मनाङ रहेको समूह ‘इ’मा  शीर्षस्थानमा अबहानीको पाँच खेलबाट १० अंक छ।

दोस्रो स्थानमा रहेको भारतीय क्लब चेन्नइनको पाँच खेलबाट ८ अंक छ। आई लिग च्याम्पियन मिनर्भा पाँचवटै खेलमा बराबरीको नतिजा निकालेर तेस्रो स्थानमा छ।   होम एन्ड अवे आधारमा सन्चालन भइरहेको समूह चरणको प्रतिस्पर्धाअन्तर्गत शीर्ष टोली दोस्रो चरण पुग्ने छ।

मनाङ दोस्रो खेलमा चेन्नइनसँग २-० गोलले पराजित भएको थियो। त्यसयता उसले मिनर्भासँग २-२ र १-१ गोलको बराबरी खेलेको थियो। मनाङले अब अन्तिम खेल चेन्नईनसँग खेल्ने छ।

 

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्