हत्याका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

साङ्केतिक तस्बिर

बुटवल– हत्या आरोपमा १३ वर्षदेखि फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ।

तानसेन १२ बौघापोखराथोकका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। स्याङ्जा साविक जगत्रदेवी–२ बस्ने २४ वर्षका राजु न्यौपानेको हत्यामा संलग्न रहेको र पुनरावेदन अदालतले १९ वर्ष जेल सजाय तोकेपछि फरार भएका भट्टराईलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको जनाएको छ।

२०६४ भदौँ २ गते भट्टराईसहित दुई जना मिलेर न्यौपानेको धारिलो हतियार प्रयोग गरी साविक दोभान गाविस ५ कदमबासमा हत्या भएको थियो।

हत्या पश्चात पक्राउ परेका भट्टराइलाई जिल्ला अदालत पाल्पाले निर्दाेष ठहर गर्दै थुनामुक्त गरेको थियो तर पुनरावेदन अदालतले पुन दोषी ठहर गरेको थियो।

भट्टराई १३ वर्षदेखि भारतमा लुकीछिपी बस्दै आएको र नेपालमा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। उनलाई बुटवलबाट पक्राउ गरिएको हो।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्