प्रधानमन्त्रीद्वारा कलंकीको मालपोत कार्यालयलाई नमूना घोषणा

प्रधानमन्त्रीद्वारा कलंकीको मालपोत कार्यालयलाई नमूना घोषणा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कंलकीस्थित मालपोत कार्यालयलाई नमूना मालपाेत कार्यालय घोषणा गर्दै  बुधबार उद्घाटन गरेका छन्।

सेवाग्राहीको गुनासोलाई संवोधन गर्न र सरकारी सेवा प्रभावकारी बनाउन सरकारले पहिलो पटक मालपोत कार्यालयको सेवालाई फरक बनाएको छ।

कलंकीको नमूना मालपोत कार्यालयको घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँको सेवा छिटोछरितो र गुणस्तरीय गराउने दाबी गरे। त्यसका लागि प्रविधिको उच्चतम प्रयोग गरेको उनको भनाइ छ। उनले भने,‘ अबको दुई वर्ष भित्र देशका सबै मालपोत कार्यालयका पुराना लिखित कागजातहरु डिजिट प्रणालीमा आइसक्ने छन्।’

उक्त मालपोत कार्यालयमा वर्षैदेखि सेवाग्राहीले सास्ती भोग्दै आएका थिए। तर भूमी सुधार तथा गरिबी निवारण मन्त्रीको पटकपटकको निर्देशन र अनुगमनपछि खासगरी कर्मचारीको लापरवाही र ढिलासुस्तीको अन्त्य भएको दावी गरिएको छ।

नमूना मालपोत कार्यालयमा कर्मचारीको अनियमितता, ढिलासुस्ती र गैरकानूनी तरिकाले काम गरेको रेकर्ड राख्ने प्रणालीको विकास गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन्। त्यति मात्र होइन ,त्यहाँ भित्र्याइएको प्रविधिले यहाँको कामकारवाही पारदर्शी र विश्वसनीय हुने मन्त्री अर्यालले दाबी गरिन्।

नमूना मालपोत कार्यालय अपांगमैत्री बनाइनुका साथै सेवा गा्रहीहरुको सेवासुविधालाई मध्यनजर गर्दै सरसफाई गरिएको छ। यसका साथै सहायता कक्ष, टोकन प्रणाली, प्रतिक्षालय, महिला तथा पुरुषको छुट्टै शौचालयको व्यवस्थाका साथै नगदरहित कार्यालयको स्थापना गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले बताए।

उनका अनुसार मालपोत सुधारको अभियान हो। सेवाग्रहीलाई परिवर्तनको महशुस हुने गरी कार्यालयलाई नमुना मालपोत कार्यालयमा बदल्ने अठोट लिएको र प्रविधिको प्रयोग गरेरै सहज सेवा दिन जोड दिइएको छ।

यस्तै १५ दिनमा साँखुमा रहेको कार्यालयलाई पनि ‘नमुना’ घोषणा गरिने छ र इलाम र पाँचथरका कार्यालयलाई पनि छिट्टै नमुना घोषणा गर्ने महा निर्देशक दवाडीले जानकारी दिए।

उनले भने, ‘मालपोत कार्यालय भन्ने वितिक्कै ढिलासुस्ती, अनियमितता, र भष्ट्राचारको थलोका रुपमा बुझिन्छ। यस्तै सेवाग्रही अनाहाकमा झन्झट व्यहोर्दै आएका छन् तर अब सेवाग्राहीले कार्यालयमा हिजोजस्तो सास्ती खेप्नु पर्दैन।’

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्