मनसुनी गतिविधि बढ्यो, देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौँ – विशेष गरी देशका पूर्वी क्षेत्रमा मनसुनी गतिविधि बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व क्षेत्रबाट मनसुन भित्र्याउने पूर्वी वायु प्रवेश गरेको र मनसुनी गतिविधि बढेको मौसमविद मीनकुमार अर्यालले बताएका छन् ।

उनले भने, ‘विशेष गरी पूर्व र मध्यमा मनसुनी गतिविधि बढेको छ । मनसुन भित्रिएको घोषणा गरिसकेका छैनौँ । अब भेरे–भोलिसम्ममा औपचारिक रुपमा मनसुन भित्रिएको घोषणा गर्ने तयारी छ।’

पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभाव अब हड्दै जाने क्रममा रहेको मौसमविद अर्यालले बताएका छन् । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्छ । मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।

पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्य तिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्नेछ। नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष १० दिन ढिला भइसकेको छ ।

यसैबिच देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । पूर्व र मध्यका केही तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्