धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी बाजुराकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर–१ मुक्तिकोटकी २२ बर्षिय रजनी बिकको व्यथा बल्झिएर ज्यान जोखिममा परेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बिहीबार हेलिकप्टरबाट उद्धार गरी कोहलपुर कोहलपुर लगिएको छ।

मगलबार अपरान्ह ४ बजे व्यथाले च्यापेपछि बिकलाई अस्पताल भर्ना गरिएको थियो। तर त्यहाँ सुत्केरी हुन नसकेपछि कोहलपुर रिफर गरिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले बताए।

सामाजिक विकास मन्त्रालयले यसअघि जेठ १८ गते पनि बाजुरा बाट एक महिलाको उद्धार गरेको थियो। मन्त्रालयले यसअघि बझाङ र बाजुराका गरी ५ जनाको पनि एअरलिप्ट गरेर उपचारका लागि नेपालगञ्ज र कोहलपुर लगेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम हिमाली र पहाडी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी गम्भीर समस्या परे एअरलिप्ट गर्ने नीति लिएको छ।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्