डीएसपीको बर्दी देखाएर धम्की, आरोपी भन्छन- फोटोसप गरेको हुँ

काठमाडौं- नेपाल प्रहरीको नायब उपरिक्षक-डीएसपी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याएको आरोपमा प्रहरीले एक गैह्र प्रहरीलाई पक्राउ गरेको छ। काभ्रेको धुसिनिसिवालयका ३८ वर्षीय भोला गौतमलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनले डीएसपीको बर्दी लगाएको तस्विर मोबाइलमा राखेका थिए। ‘ हट्टकट्ट ज्यान परेका गौतमले डीएसपीको नाम बेचेर धेरैलाई दुख दिएको गुनासो आएपछि पक्राउ गरिएको हो’, महाशाखाका एसपी सुशिलसिंह राठोरले भने।

प्रहरीसँगको प्रारम्भिक बयानमा गौतमले आफुले फोटोसप गरेर डीएसपीको बर्दी लगाएको तस्विर तयार गरेको बताएका छन्। तर झट्ट हेर्दा फोटोसप गरेजस्तो नदेखिएकाले थप अनुसन्धान हुने महाशाखाले जनाएको छ। दुई महिना अघि झापामा डीएसपीको कुर्सीमा बसेर तस्विर खिचेको आरोपमा स्थानीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।

आफ्नो कुर्सीको दुरुपयोग गरेको आरोपमा अनारमुनी इलाका प्रहरी कार्यालयका प्रमुखसमेत रहेका डीएसपी सुबास खड्कालाई हेडक्वार्टर तानिएको थियो। आफु प्रहरी हुँ भन्दै धम्क्याउने, जागिर लगाइदिने आश्वासन दिने, लुटपाट गर्नेजस्ता घटना विगतमा गैह्र प्रहरीबाट हुने गरेको थियो।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्