लुकिछिपी के माया लाउनु!

नेपाल बन्दको दिन थियो। बैंकको जागिर यसै पनि बन्दमा बिदा लिन पाउने कुरै भएन। बैंकको जागिर भए पनि बिहान नौ बजे नै अफिस पुग्नुपर्ने बाध्यताबाट मुक्त हुनुको मजा हामी सबै कर्मचारीहरुले भरपूूर लिएका थियौं। महिना कुन थियो त यकिन छैन तर गर्मीको बेला थियो। सर्टपाइन्ट, हिलजुत्ता, सनग्लासेस, ह्यान्डब्याग अनि हातमा छाता बोकेर मैतिदेवीदेखि कुपण्डोलसम्मको पैदल अफिस यात्राको लागि म तयार भैसकेको थिएँ।

मलाई राम्रोसँग याद छ कि म एक्लै यात्राका लागि निस्केको थिएँ तर मलाई यो पनि राम्रोसँग याद छ कि त्यो पूरै यात्राभरि म कदापि एक्लो थिइन। बिहानको त्यस्तै पौने दश बजेको हुँदो हो, म थापाथली क्याम्पस अगाडि पुगेको थिएँ। माइतीघरबाट बाटो क्रस गर्न त्यो दिन धेरै कुर्नु नपरेको खुसी आँखामा प्रस्ट ल्याउन नपाउँदैमा मेरो आँखा दीपिका पादुकोणको त्यो फोटोमा पर्‍यो जुन फोटो विगत केही महिनादेखि मेरो आँखामा नै बसेको थियो।

‘हेल्लो टु अ न्यु वर्ल्ड!’

फोटोले यस्तै भन्थ्यो र म पनि केही महीनापछि हेल्लो टु अ न्यु वर्ल्ड भन्ने तयारी कस्दै थिएँ। अफिसले कर्मचारी सहुलियत कर्जा भनेर सवारी साधन खरिद गर्नलाई कर्जा सुविधा प्रदान गरेको थियो। म एउटा सपना, जुन मेरो आफ्नो मेरो भन्दा अरु कसैको धेरै निजी हुन दिएकी थिएँ, त्यो सपना पूरा गर्ने सोचमा मग्न थिएँ।

‘टक्क बैंकको ड्रेस लगाएर अनि स्कुटर चढेर अफिस जाँदा तिमीलाई कस्तो राम्रो देखिन्छ होला है?’

यस्तै भन्ने गर्थ्यो ऊ। यो सपनाको मालिक मभन्दा धेरै ऊ नै थियो।

यामाहा को रे स्कुटरबाट हरेक दिनजसो मैले दीपिकालाई हटाएर एकैछिनको लागि भए पनि आफुलाई कल्पना गर्नु मेरो दिनचर्या भइसकेको थियो। तर स्कुटरको रङ भने मैले डिसाइड गर्न सकेको थिइन। हुन त मन परेको मान्छेले जुनै रङको स्कुटर चढे पनि मन पराइहाल्छ होला नि। तर मेरो त्यो दुबिधा पनि एकदिन सुन्धाराको एउटा फोटोले हटाइदिएको थियो जसमा दीपिका निलो रङको स्कुटरमा थिई। निलो रङ्गको यामाहा रे स्कुटर!

डिसाइडेड।

तिमीले बैंकमा काम गरेको हेर्न मन छ अनि तिमी इन्डिपेन्डेन्ट भएको।

थाहा थिएन- मलाई इन्डिपेन्डेन्ट हुनुको मतलब के हो भनेर त्यसैले त इन्डिपेन्डेन्ट हुन्छु भनेर म तिमीलाई पनि मेरो कल्पनामा हावी हुन नदिन खोज्थेँ। तिमि पनि कमजोर भने थिएनौ। मसँग गफ गर्न आइहाल्थ्यौ, कल्पनामा, यथार्थमा मैले बन्देज जो लगाएको थिएँ। त्यो बन्देज, जुन मैले लगाएको थिएँ या समयले, समयले लगाएको थियो या म भित्रको डरपोक मनले हिसाब गर्न बाँकी नै छ तर वास्तवमा त्यहाँ कुनै बन्देज नै थिएन।

संयोग मेरो लागि निकैपल्ट मिठो यथार्थ बनेको छ। त्यो पुराणमा हाम्रो पहिलो भेट हुनु पनि एउटा संयोग थियो। पहिलो भेटमा नै मलाई तिमी त्यति आत्मीय लाग्नु पनि मेरो लागि संयोग थियो। त्यो मधेश आन्दोलन अनि त्यो गाडी बन्द हुनु पनि एउटा संयोग थियो जसले हामीबीच चिनजान बढ्न सघायो। खाना खाइसकेर म एक्लै कोठामा बसेर तिमी यहाँ आए पनि हुन्थ्यो भन्ने कल्पना गर्थेँ अनि तिमी टुप्लुक्क आइपुग्थ्यौ। त्यो संयोग नभएर के हो त ? यस्तै संयोग धेरै पल्ट मिठो यथार्थमा परिणत भएको थियो मेरा लागि।

म त्यस्तै अर्को एउटा संयोगको कल्पना गर्दै थिएँ त्यो दिन। अरु दिन त म बसबाट अफिस जान्थेँ, तिमीलाई कतै देख्छु कि भनेर सोचेको पनि थिइन। तर, हिँडेर अफिस जाने दिन त संयोगले तिमी पनि कतै जान पैदल हिँड्नु नि! अनि टाढाबाटै भएपनि तिमीलाई हेर्न पाउनु नि। तर यदि तिमीसँग भेट भैहाल्यो भने कसरी फेस गर्छु होला तिमीलाई। के भनेर गफ सुरु गर्छौ होला तिमीले? अनि मैले? शून्यता पक्कै पनि आउनेछ हाम्रो भेटमा। यो शून्यता पहिलो भेटको शून्यताभन्दा निकै असाधारण हुनेछ। त्यो भिडमा अपरिचित व्यक्तिसँगको पहिलो भेटको शून्यता, तिमी ऊसँग हाँसेर बोल्दा अनि मलाई तिमीले नचिन्दा मेरो वरिपरि छाएको शून्यता तिम्रो लागि पक्कै पनि साधारण थियो। किनकि तिमी त्यस शून्यताप्रति बिल्कुल अनविज्ञ थियौ। तर यसपटकको शून्यता भने तिम्रो लागि पनि पक्कै असाधारण हुनेछ।

शून्यता हामीबीच निकै कमन थियो। गफ गर्नलाई हामी दुबै कम सिपालु भएकोले पनि होला धेरैजसो समय हामी दुबै चुपचाप हुन्थ्यौं।

‘लुकिछिपी चुपचाप के माया लगाउनु, साँचै चोखो माया भए दुनियासँग किन डराउनु!”

एकदिन हामी दुईजना संँगै बसेर टिभी हेर्दै गरेको बेला बजेको थियो यो गीत। तिमीलाई त खास लागेन होला त्यो गीत त्यतिबेला तर मलाई भने निक्कै विशेष लागेको थियो। लाग्थ्यो त्यो गीत मेरै लागि बनेको हो। अनि त्यो गीतको भिडियोमा मैले तिमी र मलाई राख्थेँ जसरी अहिले दीपिकाको फोटोमा म आफूलाई राख्छु।

कति मिठो हुन्थ्यो त्यो कल्पना, कति प्यारो हुन्थ्यो त्यो क्षण जतिवेला मेरो मुटु बेजोडले गाँठो पर्थ्यो अनि मनभित्रको त्यो दुखाइ पनि मलाई रमाइलो लाग्थ्यो, मुटुको धड्कन दोब्बर हुन्थ्यो अनि अनुहारमा नजानिँदो लज्जा अनि हाँसो।

हाम्रा ति थोरै भेटहरुमा धेरै धड्किने मेरो मुटु तिम्रो कल्पनामा पनि उत्तिकै धड्किन्थ्यो । त्यो दिन पनि तेज धड्किरहेको मेरो मनले सायद अनुमान लाउन सकेन होला तिमी मेरो छेउमै छौ भनेर। त्यसैले त करिब १० पाइला मात्र टाढा हामी बिचको दूरीलाई स्विकार्न तयार थिइन म।

दुनियामा सबैभन्दा छिटो यात्रा गर्न सक्ने मान्छेको मन। मन फेरि अर्कै कल्पनामा ढल्किसकेको थियो । १० पाइला अगाडिको दृष्यमा म पूर्ण रुपमा तल्लीन भएँ। त्यो मान्छे पनि यस्तै छ फिट अग्लो हुँदो हो। हिँडाइ पनि ठ्याक्कै एउटै। यस्तै सोचिरहँदा जब त्यो मान्छे मेरो छेउबाट क्रस भयो तबमात्र म झल्यास्स भएँ। त्यो मिठो कल्पनाबाट बाहिर निस्किसक्दा तिमी मेरो दुई तीन पाइला पछाडि पुगिसकेको  थियौ।

जीवनमा धेरै चिजहरु पछाडि छुटे, धेरै अवसरहरु मैले छुटाएँ र धेरै अवसरहरुबाट म आफैँले आफूलाई बञ्चित गराएँ र तिमीलाई पनि। तर आज मैले जे पाएकी छु त्यो सबैभन्दा अमूल्य पाएकी छु। फरक यति मात्र छ, सायद तिमी र मैले एकअर्का सँग पर्याप्त समय बिताउन पाएनौँ। यस्ता अनगिन्ती अनुभवहरु सँगै बटुल्न हामी असमर्थ भयौँ। यदि त्यस्तो भैदिएको भए सम्झनाहरु अझै धेरै हुन्थे होलान् अनि बुढेसकालमा सँगै बसेर गर्ने गफगाफ दोब्बर हुन्थे होलान्।

रातको एघार बज्न लागेको थियो। मेरो सम्पूर्ण ध्यान कम्पुटरमा भएकोे बेला ढोका खुलेको आवाज मैले सुनिनछु।

‘बाबु राम्ररी सुत्यो?’

‘अँ, आज त एकपल्ट पनि उठेको छैन।’

‘तिमी के गर्दै छौ?’

‘लेख्दैछु।’

‘थेसिस?’

‘होइन।’

‘अनि?’

‘एउटा मिठो संयोग!’

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्