कविता

आत्मालोचना 

ढुङ्गालाई देवता माने
कुल्चँदैन थिए छातीमा

फूललाई वसन्त माने
निमोठ्दैन थिए कोपिला

विज्ञापन

चरालाई सौन्दर्यशास्त्र माने
जन्मिँदैन थिए सिकारी बाज

सालघारीलाई हरियाली माने
झोस्दैन थिए डढेलो

नदीलाई जीवनसार माने
मिसाउँदैन थिए पाइखाना
बाँध्दैन थिए बाँध

तथापि
फूलले चुँडिनुमा
झारेन
कहिले आस

सिकारीको स्वाद बन्नु परे पनि
चराले पोखेन
कहिले गुनासो

उजाडिए पनि सालघारीले
लगाएन दोष कसैलाई

जसले जे सुकै गरुन्
रमाउँछ नदी
पोख्दैन कसैसँग मनको बह

मसँग मात्र किन
यति धेरै
कथा,व्यथा छन्
जो सुनाउन
युगौँ लाग्छ सायद

उस्तै छन्
गुनासो
असन्तोषका ज्वारभाटा
उस्तै छ आक्रोशको आगो

हरपल मच्चिइरहँदा
द्वन्द्वको पिङ
यही मनले छेडिरहेछ तेस्रो विश्वयूद्ध

अनि
कसरी गाउँ
मन शुद्ध होस्
भाव शान्त होस्
बोली बुद्ध होस्।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्