सक्रिय हुँदैछ मनसुन, लगातारको वर्षाका लागि अझै पर्खिनु पर्ने

काठमाडौँ – पूर्वबाट भित्रिएको मनसुन बिस्तारै मध्य हुँदै पश्चिम तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई दिनअघि भित्रिएको मनुसनको गतिविधि बिस्तार हुँदै गएको र सोमबारसम्म सुदूरपश्चिमका क्षेत्रसम्म मनसुनको प्रभाव पुग्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताएका छन् ।

पूर्व तथा मध्य क्षेत्रमा भने मनसुनको प्रभाव देखिन थालेको छ । हाललाई लगातारको झरी पर्ने सम्भावना नरहे पनि रोकिँदै पानी पर्ने मौसमविद श्रेष्ठले बताए । लगातारको वर्षाका लागि अझै केही समय पर्खिनु पर्ने बताइएको छ ।

यसैबिच शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुने र पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद श्रेष्ठले बताएका छन् ।

मध्य र पश्चिमका केही क्षेत्रमा बिहान मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै पूर्वी क्षेत्रका धेरै स्थानमा मेघ गर्जनसहित मध्यम खालको वर्षा हुने देखिएको मौसमविदले जनाएका छन् ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्