चोटको पीडा भुलेर नेइमार मुस्काउँदै पुगे साथीहरुलाई भेट्न

नेइमार अहिले चोटका कारण मैदान बाहिर छन् । घरेलु मैदानमा जारी दक्षिण अमेरिकी फुटबलको महामेला कोपा अमेरिकामा उनले खेल्न सकेका छैनन् ।

चोटबाट निको हुनका लागि आराम गरिरहेका नेइमारले खेलको मजा भने लिइरहेका छन् । उनीले सामाजिक सञ्जालमा ब्राजिलियन टिमको मनोबल बढाइरहेका छन् । यसैबिच शुक्रबार नेइमार राष्ट्रिय टिमका साथी खेलाडीलाई भेट्न प्रशिक्षण भइरहेकै ठाउँ पुगे ।

ब्राजिलले शनिबार मध्य रातमा पेरुसँग प्रतिस्पर्धा गर्दैछ । थिएगो सिल्भाको कप्तानीमा रहेको टिमले पहिलो खेलमा बोलिभियालाई ३–० ले पराजित गरेको थियो । तर दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकियो । समूहको अन्तिम खेलमा उसले समान चार अंक रहेको पेरुको सामना गर्दैछ ।

कोपा अमेरिका अघि कतारसँगको मैत्रीपूर्ण खेलको क्रममा चोटग्रस्त भएका नेइमारले घरेलु मैदानमै भएको प्रतियोगिता खेल्न पाएनन् ।

तर उनी शुत्रबार साओ पाओलोमा प्रशिक्षण गरिरहेको टिमका खेलाडीलाई भेट्न जाँदा मुस्कानसहित थिए । उनले सबै साथी खेलाडीको हौसला मुस्कानसहित थप बढाए ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्