जब बाघसँगको एकोहोरो प्रेमले जंगलसम्म पुर्‍यायो…

हरेक व्यक्तिका इच्छा, चाहना र लक्ष्य भिन्न भिन्न हुन्छन् । समय र परिवेश अनुसार परिवर्तन भइरहन्छन् । मेरा पनि रहरहरु छन् । सपनाहरु छन् । तर जीवनमा यो नै हुनु पर्छ भन्ने छैन । तत्कालको समयका लागि राम्रो हुनु पर्छ भन्ने हुन्छ । काममा पनि त्यस्तै हो, आफूले गरेको काम सकेसम्म राम्रो होस् भन्ने चाहना सधैँ रहिरहन्छ ।

कामसँगै जोडिएर कहिले काहिँ फरक रहरहरु आउँछन् ममा । यस्ता कुराले मलाई साथीहरुले नै कत्ति पटक त ‘पागलपन’ चढेको छ यसलाई पनि भन्छन् । तर के गर्नु बानी नै यस्तै छ ।

मेरो नाम र पेशाको नेचर मिल्छ जस्तो लाग्छ ‘नेचर’ अर्थात प्रकृतिसँग । मलाई प्राकृतिक वातावरण रमाउन मन पर्छ । त्यसलाई आफ्नो क्यामरामा सुन्दर तस्बिरमा रुपमा समेट्न खोज्छु । प्रकृतिसँगको मेरो प्रेम सानैदेखिको हो । तर यो वर्ष प्रकृतिको एक सदस्यसँग यस्तो प्रेम बस्ला जस्तो लागेको थिएन । तर बस्यो, त्यो पनि बाघसँग । बाघसँग मेरो एकतर्फी माया बस्यो ।

एक दिन घरमा ल्यापटपमा गुगल गरेर केही तस्बिरहरु हेर्दै थिएँ । मेरा आँखा बाघको तस्बिरमा गएर अडिए । तस्बिरको बाघसँग आँखा जुधेपछि मैले बाघलाई मात्रै सोच्न थालेँ । हरेक दिन जसो बाघकै बारे सोच्न थालेँ । मलाई बाघसँग नजिकबाट भेट्ने मन लाग्न थाल्यो । बाघबारे गुगल गरेर अध्ययन गरेँ ।

म झन बाघतिर नजिकिएँ । बाघलाई भेट्नलाई आतुर भएँ । थाहा पाएँ बाघ लजालु जनावार हो । उसले आफूलाई खतरा छ भन्ने लागेमा मात्रै आक्रमण गर्छ भन्ने थाहा पाएँ । मान्छेले त खतरामा पर्ने डरले मात्रै होइन स्वार्थले अर्को मान्छेमाथि अमानवीय आक्रमण गरिरहेका हुन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा मैले परैबाट देखेको बाघ यहि हो ।

बाघ खतरनाक जनावर हो भनेर सानैदेखि पढाइएको वा डराउन दिएको कुराप्रति मेरो बिमत्ति भयो । यी सबै कुराले बाघप्रतिको मेरो मोह उत्कर्षमा पुगेको थियो ।

मलाई बाघ जसरी पनि हेर्नु थियो । त्यसको उत्तम गन्तव्यमा पर्छ बर्दिया राष्ट्रिय निकुञ्ज । बाघको एकतर्फी प्रेममा परेकी म त्यहाँ जाने निर्णयमा पुगेँ । बिदा मिलाएर गएँ पनि ।

बर्दिया राष्ट्रिय निकुञ्जमा मैले पाँच दिन बाघसँगको प्रेम बोकेर हिँडे । मलाई त्यहाँ न त गर्मीको महसुश भयो न त अन्य केही कुराको । यदी मैले केही सोचे भने त्यो केबल बाघ थियो ।

म बिहान, दिउँसो र बेलुका बाघसँगको मिलनको प्रयासमै जुटेँ । त्यही क्रममा एकजनाले मलाई ‘बाघ त भाग्यमानीले मात्र देखछन् । अब खै तपाईँको भाग्य छ कि नाईँ’ भने । यता मेरो प्रेमको कुरा थियो, उता भाग्यको कुरा हुँदै थियो ।

बर्दिया गएको तेस्रो दिन मैले बाघ त देखेँ तर धेरै टाढाबाट । लाग्यो म पनि भाग्यमानी रहेछु । तर कुरा त एकोहोरो प्रेमको थियो । त्यति टाढा हुदा मैले उसलाई कसरी ‘प्रेम प्रस्ताव’ राख्न सक्छु । यो मेरो लागि दुःखको कुरा थियो । अरु नजिक जाने प्रयास पनि गरेको हो, तर सफल भइएन ।

पहिलो पटक प्राकृतिक रुपमा बाघ देख्दा खुशी लाग्यो नजिकै जान नपाए पनि । बाघसँगको त्यो परको भेट गरेर फर्किएको पनि हप्ता नाघिसक्यो, तर अझै पनि बाघसँगको यो एकोहोरो प्रेममा भने कुनै कमी आएको छैन । र आशा छ कुनै दिन त पकै भेट हुने छ नजिकबाट ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्