कुलु-कुलु-कुलु थु!

काठमाडौँ– दाँत मानव शरीरको सबैभन्दा बलियो अंग मानिन्छ। सामान्यतया चपाउने, टोक्नेदेखि लुछ्नका लागि पनि दाँतको प्रयोग हुन्छ।

यति मात्रै होइन राम्रोसँग मिलेका दाँतले मान्छेको सुन्दरता र व्यक्तित्वमा समेत फरक पार्छ, त्यसैले पनि दाँत मानव शरीरको एक महत्वपूर्ण अंगका रुपमा रहेको हुन्छ।

यति महत्वपूर्ण दाँतको हेरचाहमा भने हामीले खासै ध्यान पुर्‍याएका हुँदैनौँ। अझै भन्ने हो भने त कतिपय मानिसहरुले खाना खाइसकेपछि कुल्लासमेत नगरेको पाइन्छ। विभिन्न पार्टी तथा समारोहमा यस्तो देख्न सकिन्छ। किनकि सबै जना खाना खाइसकेपछि टिस्यू पेपरले हात, मुख पुछ्ने गर्छन्। यसो गर्दा उनीहरुको दाँतमा खाने कुराका ट्क्राहरु अड्किने र दाँतमा समस्या आउने सम्भावना धेरै हुने चिकित्सकले बताउने गरेका छन्। मुखमा खानेकुराको टुक्राटाक्री अड्किन नदिन मुख कुल्ला गर्न अत्यन्तै आवश्यक रहेको चिकित्सकहरु बताउँछन्। ‘कुलु-कुलु-कुलु थु’ गर्ने प्रक्रिया दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको चिकित्सकहरु बताउँछन्।

टुक्रा खाने कुरा दाँतको वरिपरि जम्मा हुने गर्छ र यसरी जम्मा भएको फोहोरहरुले सुरुमा गिजालाई असर गर्छ र त्यसपछि जरालाई समात्ने हड्डी र अन्य भागलाई असर पुर्‍याउने र किरा लाग्ने गर्छ।

चिकित्सकहरुका अनुसार किराले खाएको भाग समयमै भर्नुपर्छ। किराले साना–साना प्वाल वा खाल्टो बनाइरहेको धेरैलाई थाहा हुँदैन। त्यसकारण दाँतको ६–६ महिनामा नियमित परीक्षण गराई रहनु पर्ने चिकित्सकहरुले सुझाव् दिने गरेका छन्।

अझ कतिपयको त दाँत किरा लागे पश्चात सहनै नसक्ने दुखाई भएपछि मात्रै अस्पताल पुग्ने गरेको पाइन्छ। दाँतमा किरा लागेको अवस्थामा अस्पताल ढिलो पुग्दा दाँत भर्न मात्रै होइन, दाँतलाई नै निकालेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू