जनता आवास कार्यक्रम अन्तर्गत बन्ने भयो दिलमायाको घर

दाङ– खरको छानो र सिठाले बारेर माटोले पोतिएको सानो घर छ। त्यही सानो घरमा दिलमाया विकको ६ जनाको परिवार बस्दै आएको छ। पानी पर्दा छानो चुहिन्छ, हुरी चल्दा रातभर निदाउँन सकिँदैन।

अब भने जनता आवास कार्यक्रम अन्तर्गत दिनमायाको घर बन्ने भएपछि उनले भोग्दै आएको समस्या हुने आशा पलाएकाे छ। दाङको राजपुर गाउँपालिका वडा नम्बर–६ मा बस्ने दिलमायाको अब दुई कोठा र एउटा शौचालयसहितको घर बन्ने भएको हाे।

प्रदेश सरकार सहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइदिने भएको हो। राजपुर गाउँपालिकामा पहिलो पटक जनता आवास कार्यक्रम अन्तर्गत दलित तथा विपन्न नागरिकको घर बनाउन लागिएको हो।

जिल्लामा आर्थिक वर्ष २०६७/६८ बाट जनता आवास कार्यक्रममार्फत घर बनाउन थालिएको हो। करिब दश वर्षको अवधीमा राजपुर गाउँपालिकामा–१७ जना दलित परिवारको पक्कि घर बन्ने भएकाे हाे।

आवास निर्माण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नागरिकको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धता अनुसार विकट क्षेत्रमा जनता आवास कार्यक्रम मार्फत घर बनाउन थालिएको बताए। ‘दश वर्ष जति भएछ दाङमा जनता आवास कार्यक्रम चलेको। तर, राजपुर गाउँपालिकामा अहिले सम्म एउटा पनि घर बनेको थिएन।’

सहरी विकास तथा भवन कार्यालय दाङका प्रशासन प्रमुख शेरबहादुर केसीले जिल्लामा एक सय ९२ घर प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत यस वर्ष बनाउन थालेको जानकारी दिए। ‘राजपुरमा अहिले सम्म घर नबनेको पाईएपछि यहाँ कार्यक्रम चलाउने निर्णय गरियो।’

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्