‘दृष्टिविहीनहरुलाई कहिल्यै लोडसेडिङ हुँदैन, सूर्य कहिल्यै अस्ताउँदैन’

काठमाडौँ– जापानको चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत डा. कमल लामिछानेको पुस्तक अन्तर्दृष्टि लोकार्पण गरिएको छ।

काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा शनिबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले पुस्तक लोकार्पण गरे।

कार्यक्रममा आख्यानकार गौचनले पुस्तकमा लेखकको इमानदारी प्रस्ट देखिने बताइन्। १२ वर्षसम्म विद्यालय नपुगेका लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धि नेपालीहरुकै गौरवको विषय रहेको रहेको उनले बताइन्।

यस्तै आख्यानकार न्यौपानेले दृष्टिविहीनहरुले आफ्नो जीवनलाई हेर्ने दृष्टि विशाल रहेको बताए। प्रत्येक मानिसभित्र एउटा संसार हुने र दृष्टिविहीनहरुको अझ ठूलो संसार रहने उनले बताए। उनले भने, ‘दृष्टिविहीनहरुलाई कहिल्यै लोडसेडिङ हुँदैन, सूर्य कहिल्यै अस्ताउँदैन, अँध्यारो कहिल्यै हुँदैन, यसको उदाहरण डा. कमल लामिछाने हुन्।’

कार्यक्रममा शिक्षाविद माथेमाले पुस्तकमा गाउँघर, किसान, सहर र विकासलाई सूक्ष्म दृष्टिबाट प्रस्तुत गरेको बताए। उनले पुस्तकमा दृष्टिविहीन व्यक्तिहरुलाई समाज एवं परिवारले हेर्ने दृष्टिकोणलाई सूक्ष्म रुपमा खुलाइएको बताए।

कार्यक्रममा बोल्दै लेखक लामिछानेले अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने हेयपूर्ण दृष्टिकै कारण आफू पुस्तक लेखेर केही व्यक्तिको मात्र भए पनि सोचाइ परिवर्तन गर्न सकियो भने पनि त्यो आफ्नो जीवनकै एउटा सफलता हुने ठानेर यसतर्फ लागेको बताए।

अपांगता भएका व्यक्तिसँग ‘वर्किङ टुगेदर वाकिङ टुगेदर’ को भावना जगाउने आफ्नो उद्देश्य रहेको र त्यसका लागि आफू लागिपरेको उनको भनाइ छ।

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्