प्रदेश सरकारले आगामी वर्ष कर्णाली एयरलाईन्स सञ्चालन गर्छ: मुख्यमन्त्री शाही

फाइल तस्बिर

हुम्ला– विकासका लागि इच्छा शक्तिको आवश्यक पर्ने त्यो गर्न कर्णाली प्रदेश सरकार तयार रहेको कर्णालीका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्।

शनिबार पार्टीकाे कार्यक्रमका लागि हुम्ला आएका मुख्यमन्त्री शाहीले आगामी आर्थिक वर्षका लागि गत असार १ गते प्रदेश सरकारले ल्याएको बजेटका बारेमा संचारकर्मीलाई जानकारी दिँदै उक्त विचार व्यक्ति गरेका हुन्।

पूर्वाधार विकास र गरिबी निवारण कर्णाली प्रदेश सरकारको आगामी बजेटको प्राथमिकतामा राखेको मुख्य मन्त्री शाहीले बताए। हालसम्म पूर्वाधार विकास पनि हुन नसकेको र गरिबी पनि बढी भएको हुँदा प्रदेश सरकारले यी कुरालाई महत्व दिएर बजेटको व्यवस्था गरेको उनले बताए।

कर्णाली प्रदेश सरकारले ल्याएको बजेट तथा कार्यक्रममा हिल्सा जमुना उत्तर दक्षिण लोक मार्ग, जिल्ला जोड्ने सडक, जगदुल्ला र बबई–भेरी मेघा हाईड्रो, खानेपानी, सिँचाई जस्ता पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको र त्यसै अनुसार बजेटको व्यवस्था गरिएको उनको तर्क छ।

उनले नीजि एयरलाईन्सहरु नाफा केन्द्रित हुँदा जनताहरुले हवाई यातायातमा सास्ती खेपेको अनुभूति सरकारले गरेको बताए। आगामी आर्थिक वर्षमा प्रदेश सरकारले कर्णाली एयरलाईन्स संचालन गर्नका लागि एक अर्ब बजेटको व्यवस्था गरेको उनको भनाई छ। साथै त्यसबाट दुई वटा जहाज तथा एक वटा एमआई–१७ हेलिकोप्टर खरिद गरिने र बजेटको अभाव भए त्यसको व्यवस्था गर्न पनि सरकार लागि पर्ने उनले बताए।

ठूला विकास गर्नका लागि प्रदेश सरकारले मुख्य मन्त्रीको संयोजकत्वमा विकास प्राधिकरण गठन गर्ने र त्यसले दिगो र परिमाणमूखी विकास आयोजनाहरु अगाडी बढाउने प्रदेश सरकारको तयारी रहेको छ। कर्णाली प्रदेश सरकारले यसअघि नै एक करोड भन्दा माथिका योजनाहरु मात्र संचालन गर्ने घोषणा गरि सकेको छ।

कर्णाली सरकारले यसका लागि पहिलो पक्ष खाना, नाना र छानाको व्यवस्था गर्न बजेट सहितको कार्यक्रम सरकारले ल्याएको उल्लेख गरे। त्यसै गरि पर्यटन क्षेत्रको विकासका लागि पनि प्रशस्त मात्रामा कार्यक्रमहरु संचालन गरिने उनको भनाई छ।

कर्णालीलाई गरिब बनाइएको भन्दै मुख्यमन्त्री शाहीले साधन र श्रोतको समूचित विकास गर्न अब प्रदेश सरकार लाग्ने बताए। नयाँ संरचनाको सुरुवात भएको कारण अघिल्लो वर्ष आशातित सफलता प्राप्त गर्न नसकिएको स्वीकार्दै अघिल्लो वर्षलाई सरकारले सिकाईका बर्षमा लिएको र यी सिकाईलाई आगामी वर्ष सुधार गरेर अगाडी बढ्ने उनले बताए।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्