ट्रम्प–किम ‘पत्र–व्यवहार’

किमले पाए ट्रम्पले पठाएको ‘उत्कृष्ट’ चिट्ठी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई व्यक्तिगत चिट्ठी पठाएका छन् । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमका अनुसार किमले ट्रम्पले पठाएको उत्कृष्ट चिट्ठी प्राप्त गरेका छन् ।

नेता किमले ट्रम्पको चिट्ठीलाई ‘उत्कृष्ट’ भनेको र त्यसमा रहेको विषयवस्तु मनपराएको तथा त्यसमा सोचविचार गरेको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । यस्तै किमले अमेरिकी राष्ट्रपति ट्रम्पको असाधारण प्रयास तथा साहसको पनि प्रशंसा गरेको जनाइएको छ ।

जुनको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमबाट आफूले सुन्दर चिट्ठी पाएको बताएका थिए ।

ट्रम्पले कहिले र कसरी आफ्नो चिट्ठी किमलाई पठाएको भन्ने खुलेको छैन । यसबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले केही बताएको छैन ।

गएको फेब्रुअरीमा भियतनाममा भएको ट्रम्प–किम वार्ता बिना सहमति टुंगिएको थियो । त्यसपछि रोकिएको संवाद पुनः सुरु गर्ने प्रयासका रुपमा ट्रम्प–किमबिचको पछिल्लो पत्र–व्यवहारलाई हेरिएको छ ।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्