मुख्यमन्त्रीको नआएपछि प्रतिपक्षीले गरे कर्णालीको सदन अवरुद्ध

सुर्खेत-कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको दशौं बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा मुख्यमन्त्रीको अनुपस्थिति रहेको भन्दै आइतबारको बैठक अवरुद्ध गरेको हो।

बजेटमाथिको सैद्धान्तिक छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अनिवार्य उपस्थिती हुनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले उठेर सदन अवरुद्ध गरेका हुन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ बजेट असार १ गते प्रस्तुत गरेको थियो। बजेट सार्वजनिक भएपनि हालसम्म सैद्धान्तिक छलफल हुन सकेको थिएन। दुई घण्टासम्म बैठक सञ्चालन हुन नसकेपछि प्रदेश सभा सचिवालयले गत बुधबारको बैठक स्थगित गरेको थियो।

आईतबार आह्वान गरिएको बैठकमा मुख्यमन्त्रीको अनुपस्थिति विना बजेटमाथि छलफल गर्नु उपयुक्त नरहेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए।

‘सबै मन्त्रीहरु हुनुपर्ने हो। तर मुख्यमन्त्री अनिवार्य हुनैपर्छ, कसैको मानमर्दन गरेर बैठक चल्दैन’, नेता शाहीले भने,‘यो कुनै वडा समितिको चौक चौतारामा बस्ने मिटिङ्ग होइन्।’ उनले मुख्यमन्त्रीको अनुपस्थिति विना प्रमुख प्रतिपक्षको तर्फबाट बजेटमाथि धारणा नराख्ने बताए।

‘किताव हात–हातमा छ, चौरमा बसेर छलफल गरौँ। यो प्रक्रियामा किन जाने?’, उनले भने,‘ बजेट विनियोजन गर्नु मात्रै ठूलो कुरा होइन्, कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा समेत सदनमा छलफल अनिवार्य छ। मुख्यमन्त्री अनुपस्थित भएसम्मका लागि पुनर्विचार गर्न सकिदैन्।’

कांग्रेसले वैठक अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित भएको सदन सञ्चालन हुन सकेको छैन्। मुख्यमन्त्री शाही अदानचुली गाउँपालिकालाई मदिरा मुक्त गाउँपालिका घोषणा कार्यक्रममा उपस्थित हुन हुम्ला पुगेका छन्। हेलिकप्टर चार्टर गरेर औपचारिक कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री हुम्ला पुगेपछि यता, सदन अवरुद्ध भएको हो।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्