नेकपा नेतृत्वको अन्तर द्वन्द्व

ओलीविरुद्ध यस्ता छन् दाहालका ६ रणनीति

काठमाडौँ- करिव ३० वर्ष अर्थात भूमिगतकालदेखि अविच्छिन्न दलको एकल ‘कमाण्ड’ सम्हालेका पुष्पकमल दाहालले गत वर्ष एमाले—माओवादी एकीकरण मार्फत नेपाल कम्युनिष्ट पार्टी जन्माएपछि त्यो हैसियतमा सम्झौता गरेका थिए केपी ओलीसँगै पार्टीको सहअध्यक्ष बनेर।

तर त्यो रणनीतिक ‘क्रमभंगता’ मात्रै रहेको र आलोपालो ‘नेतृत्व’को सहमतिमा दाहालले यो सम्झौता गरेका थिए। यता आएर ओलीले ‘आलोपालो’ सहमतिलाई आदार गर्लान कि भन्ने आशंका बढ्न थालेपछि दाहालले कडा ‘पोजिसन’ लिन थालेका छन्, सैद्धान्तिक र रणनीतिक दुवैरुपमा।

ओलीले पार्टी र सरकारलाई आफ्नै हिसाबले अघि बढाउँदै दाहाललाई सबै किसिमले ‘माइनस’ गर्न थालेपछि दाहालको छटपटी बढ्न थालेको छ भने त्यही अनुपातमा रणनीतिक दाउपेच पनि।

शनिबार बालुवाटारमा आयोजित पार्टी सचिवालय बैठकमा ओलीले पूर्व नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ‘जबज’ नै एकीकत पार्टीको सिद्धान्त हुनुपर्ने मान्यता अघि सारेपछि तत्कालै खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर दाहालले प्रतिकारात्मक अभ्यास सुरु गर्ने संकेत दिएका छन्।

एकीकरणका समय दुवै दलले आआफ्नो राजनीतिक सिद्धान्त अर्थात ‘जबज’ र २१ औँ शताव्दीको जनवादलाई एकीकृत पाटीएको एकल मार्ग निर्देशक सिद्धान्त बनाउने जोड नदिने सहमति गरेका थिए।

बरु आवधिक निर्वाचन, बहुदलवाद, बहुदलीय प्रतिष्पर्धा, संसदप्रति उत्तरदायी सरकार र स्वतन्त्र न्यायापालिकाको अस्थित्वलाई स्वीकार गर्ने सहमति अनुसार माधव नेपालको नेतृत्वको कार्यदलले राजनीतिक प्रतिवेदन तयार गरी एक साता भित्र सार्वजनिक गर्ने सर्तमा गत वर्ष ओलीलाई बुझाएको थियो।

त्यसमा ओली दाहालबीच सहमति असम्भव जस्तै देखिएपछि नयाँ रणनीतिको निर्माणमा जुटेका दाहालले आफु निकट नेताहरुलाई प्रश्न गरेका छन्,‘ ओलीले आफु रहुञ्जेल पार्टी र सत्ता दुवैको नेतृत्व पनि नछोड्ने, सिद्धान्त पनि पुरानै अगिंकार गर्ने र सांगठनिक एकीकरण पनि आफु अनुकुल बनाई बलियो हुनेतिर लाग्नु भयो । अव यसबारे मौन रहनु ठिक हुन्छ त अर्थात के माओवादी एमालेमा विलय भएको हो र ?’

एकीकृत पार्टीको महाधिवेशनपछि अध्यक्षको पद आफुले पाउने र आधा समयपछि सरकारको नेतृत्व पनि आफैले पाउने विश्वास सहित सशस्त्र विद्रोह ताका दुश्मन बनेका ओलीसँग लिखित सहमति गरेका थिए दाहालले ।

द्याहालले प्रारम्भिक ६ महिना दाहालले ओलीलाई रिझाउने र उनको चित्त नदुखाउने प्रयास पनि गरेका थिए। त्यसबेला दाहालले पार्टीका अन्य वरिष्ठ नेताहरुलाई उपेक्षा गर्दै ओलीका पक्षमा सार्वजनिक र आन्तरिक बैठकहरुमा अभिव्यक्ति दिएका थिए।

तर ओलीले दाहालसँग सल्लाह नगरी पार्टीको महत्वपूर्ण निर्णय लिएको,महत्वपूर्ण संवैधानिक निकायहरुमा दाहालका मान्छेलाई नगन्य स्थान दिएको र एकलौटीरुपमा सरकार सञ्चालन गरेको निष्कर्ष पूर्ववर्ती माओवादीले निकालेपछि दाहाल ओलीबीचको दुरी बढ्न थालेको हो ।

त्योसँगै ओलीको उक्त कार्यशैलीले निरन्तरता पायो भने निर्धारित समयमा सरकारको नेतृत्व नपाउनेबारे पनि दाहाल आश्वस्त हुन थालेपछि दाहाल खुल्लारुपमा पोखिन थालेका हुन्।

ओलीले सांगठनिक एकीकरणका क्रममा आफ्ना गुटका नेतालाई मात्रै प्राथमिकता दिँदै दाहाल गुटकालाई अपेक्षा गरेको सिकायत पूर्ववर्ती मोआवादी नेताहरुले दाहालसँग गरेको तर दाहालले सुरुमा त्यसलाई गम्भीरताका साथ नलिदा परिस्थिति यो हदसाँ बिग्रेको दाहाल निकट एक नेता बताउँछन्।

यता आएर ओलीले सरकार पनि नछोड्ने र पार्टीको अध्यक्ष पनि नदिने तयारी गरेको निचोडमा पुगेपछि दाहालले राण्नीति परिवर्तन गर्दै ओलीसँग चिडिएको पूर्व एमालेको अर्को पक्ष अर्थात नेपाल समूहसँग साँठगाँठतर्फ मोडिएको ती नेता बताउँछन्।

ओलीको उपेक्षा बुझ्न थालेपछि दाहालले नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत नेताहरुसँग एकता बलियो बनाउन धेरै समय खर्चिएका छन् यो बीचमा।

९ सदस्यीय केन्द्रिय सचिवालयका शीर्ष पाँच नेता दाहालको पक्षमा उभिएर स्थायी समितिको बैठकमा पूर्व निर्धारित मापदण्डका आधारमा पार्टीको तल्लो तहको एकीकरण गर्नु पर्ने अडान राखेपछि जिल्लाको एकीकरण लगभग त्यसैगरी गर्न बाध्य भए ओली।

तर त्यो पराजयको अन्यत्र निरन्तरता रोक्ने खेलमा पनि ओली लागिरहे। दाहाललाई पनि यो बुझ्न समय लागेन।

भारत भ्रमणका बेला पहिलो पटक सरकारको नेतृत्व आलोपालो गर्ने सहमति ओलीसँग भएको त्यहाँको एक पत्रिकालाई अन्तवार्ता दिँदै दाहालले सार्वजनिक गरेर आन्तरिक र बाह्यि ध्यान आकर्षित गर्ने कोशिस गरे।

दाहाललाई ‘काउन्टर’ दिन ओलीले सबैभन्दा पहिला दाहाल गूटमा विभाजन गरी रामबहादुर थापा बादललाई आफूतिर मिलाउन सफल भएपनि दीर्घकालिन रुपमा दाहाललाई पन्छाउने हिसावले ‘जबज’ को शरणमा जाने अडान पनि लिए यो बीचमा।

‘यो राजनीतिक वेइमानी हुनेछ र ओलीले माधव नेपाल लगायतको विरोध खेप्नु पर्ने छ,’ पार्टीका एक केन्द्रीय सदस्य देशसञ्चारलाई भन्छन्।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेले खुलेरै ओलीलाई समर्थन दिएपनि नेता नेपाल, खनाल, र वामदेव गौतमले ‘मौनता’ बाट दाहाललाई सघाएका छन् अहिले।

गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री एवम् पार्टीका स्थायी कमिटी सदस्य रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली कार्यक्रममा ‘जबज’बाट आफू दायाँबायाँ नहुने संकेत दिएका थिए ओलीले।

मदनआश्रित दिवसका दिन ओली र दाहालबीच यस विषयलाई पिलएर मत बाझिएको थियो सार्वजनिक कार्यक्रममै।

पार्टीका वरिष्ठ तहबाट प्राप्त सूचना अनुसार ओलीले एक्लाएक्लै नेपाल, खनाल, गौतम लगायतका नेताहरुलाई ‘प्रलोभन’ दिँदै दाहाललाई एक्लाउने प्रयास गरेपनि उनीहरुबीचको ‘सूचना आदानप्रदान’ले ओलीको ‘फुटाउ र राजगर’ नीति छताछुल्ल भएको देखिन्छ।

यसै पृष्ठभूमिमा दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ओलीलाई आफैले दबाब समेत दिइसकेका छन्। यस्तै एक उच्चस्तरीय संयन्त्र निर्माण गर्ने र त्यसको सल्लाह अनुसार ओलीलाई सरकार सञ्चालन गर्न बाध्य बनाउने रणनीतिमा पनि दाहाल जुटेका छन् ।

ओलीले त्यो नमानेको खण्डमा बहुमत आफ्नो पक्षमा लिएर पार्टीको बाँकी एकीकरण, केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटव्युरो गठन, राजनीतिक प्रतिवेदन प्रकाशन लगायत काममा बहुमतका आधारमा निर्णय लिँदै जानु पर्ने निष्कर्षमा दाहाल पुगेका छन् । र त्यो सहमति जुटाउन उनी लागि परेको उनी निकट अर्का एक नेता बताउँछन्।

अन्तत :  सरकारको नेतृत्व ओलीले नछोडे बहुमतका अधारमा पार्टीको कार्यकारी अध्यक्ष आफु बन्ने रणनीतिमा दाहाल लागेको उनी निकट नेताको भनाई छ। त्यो पनि सफल नभएमा संसदीय दलमा बहुमत निर्माण उनको अर्को राण्नीति हुने पनि उनी दाबी गर्छन्।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्