रहस्यमयी नेपाली ‘डायना’, भारतीय मारवाडीलाई लपक्कै पारेकी युवती प्रहरी खोरमा

उनीहरुबीच करिब २ वर्षअघि फेसबुकमा चिनजान भएको हो। सुरुमा श्रीपलले नै डायनालाई फेसबुकमा रिक्वेस्ट पठाएका हुन्।  फेसबुकमार्फत गाँसिएदेखि नै भारतीय मारवाडी श्रीपल जैन, डायना सेकेन्डसँग प्रभावित थिए।

डायनाको बोल्ने तरिका र हाउभाउबाट उनी मोहित थिए। आफूलाई सिंगापुरे ‘बिलेनियर’को छोरी बताउने डायनासँग उनी नजिक नहुनुपर्ने कुनै कारण थिएन। डायनाले फेसबुकमा आफूसँग समय दिएर बोल्ने भएकाले पनि श्रीपललाई लाग्थ्यो- डायना पनि मसँग प्रभावित छे।

विज्ञापन

डायना भन्थिन्- मेरो बुबाको विभिन्‍न देशमा बिजनेश छ। म एक्लो सन्तान हुँ। श्रीपलले डायनाको मन जित्‍न कुनै कसर बाँकी राखेनन्। राजस्थान घर भएका श्रीपल राम्रै जिवनशैलीसाथ मुम्बईमा परिवारसँग बसेको वर्षौँ भइसकेको छ। उनलाई कुनै कुराको अभाव थिएन।

गत मेमा श्रीपललाई डायनाको प्रस्ताव आयो- म घुम्‍न दुबई आएको छु। मिल्छ भने तिमी पनि  आऊ।

सिंगापुरको ‘बिलिनियर’को छोरीले बोलाएपछि श्रीपलले नाइ भनेनन्। अंग्रेजी फरर बोल्ने डायनालाई भेटेपछि श्रीपल अझ विश्वस्त भए :  म राम्रै मान्छेसँग संगतमा परेछु।

डायना महँगा-महँगा ठाउँमा लिएर जान्थिन् श्रीपललाई। श्रीपलले बिल तिर्नुअघि डायना भन्थिन्- हैन म तिर्छु। तर श्रीपल आफै बिल तिर्थे। उनीहरु दुवईमा एउटै रुम ‘बुक’ गरेर बसे। श्रीपलले शारिरिक सम्पर्कको प्रयाश गरे पनि डायनाले आफू त्यस्तो युवती नभएको र ‘हामीहरु दाजु बहिनी’ भएर बस्‍न अनुरोध गरिन्।

डायनासँग भन्दा पनि डायनाको सम्पतीमा श्रीपललाई लोभ थियो। करिब एक साता बसेपछि श्रीपल भारत फर्किए। त्यसको केही दिनपछि डायनाले श्रीपलसँग भनिन् – म भारत घुम्‍न आउन चाहन्छु। श्रीपलले सहजै स्वागत गरे। डायना मुम्बईस्थित श्रीपलको घरमै आएर बसिन्। श्रीपलको परिवारले पनि डायनाको बसाइलाई सहजै लियो- बिलेनियरको छोरी भनेपछि।

एक साताको भारत बसाईपछि डायनाले श्रीपललाई भने- नेपाल घुम्‍न जान्छु त्यहाँ हाम्रो बिजनेश पनि छ।  उनी नेपाल आइन्। त्यसको केही समयपछि श्रीपललाई पनि नेपाल घुम्‍न प्रस्ताव गरिन्। श्रीपल केही नसोची नेपाल आए। श्रीपललाई डायनाले भनेकी थिइन्- म नेपालको एयरपोर्टमा भिआईपी कक्षबाट जान्छु र भिआईपी कक्षबाटै बाहिरिन्छु।

डायनाले राजधानीको बागमती होटलमा रुम बुक गरेकी थिइन्। दुवै जना एउटै रुममा बसे दाजु बहिनी भएर। केही दिनअघि डायनालाई उनका ‘बिलेनियर’बाबुले फेसबुकमा म्यासेज गरे- म शनिबार भारत आउँदै छु। त्यहाँ महाराष्ट्रका मन्त्री नितेश गड्गारीसँग मेरो रात्रि भोज पनि छ। तिमीहरु दुवै जना त्यहाँ आओ। रमाइलो हुन्छ।

डायनाले यसबारे श्रीपललाई बताइन्। मन्त्रीसँग डिनर हुने कुराले श्रीपल पनि मख्ख भए। डायनाका बिलेनियर बाबुसँग भेट्न उनी उत्साही थिए। केही दिनअघि डायनाले श्रीपललाई भनिन्- मेरो बिजनेशको सामना आउँदै छ बाहिरबाट। भन्सारमा ४० लाख रुपैयाँ जति तिर्नुपर्ने, मेरो पैसा आउन समय लाग्‍ने भयो।

यहिबेला श्रीपललाई डायनाका बाबुले पनि म्यासेज गरे- छोरीलाई अपुग पैसा दिइ राख। म भारतमा मिलाउँछु।

श्रीपलले भारतबाट २३ लाख रुपैयाँ मगाएर डायनालाई दिए। दुवै जना खुसी भए। उनीहरु शनिबार भारत जानेभन्दै एयरपोर्टतर्फ लागे। एयरपोर्ट भित्र प्रवेश गरेपछि डायनाले भनिन्- म मेरो पासपोर्ट सँधै एयरपोर्टमै राख्छु। आउँदा यहीँ राख्छु। जाने बेला यहीँबाट लिएर जान्छु। म पासपोर्ट लिएर आउँछु तिमी यहीँनेर बस्दै गर है।

श्रीपलले ‘हुन्छ’ भने। श्रीपल कुरिरहे। प्लेन चढ्ने बेला भयो तर पासपोर्ट लिन गएकी डायना फर्किइनन्।

श्रीपल यतिबेला निन्याउरो अनुहार लगाएर प्रहरी कार्यालय धाइरहेका छन्। उनले सिंगापुरको बिलेनियरकी छोरी भनेर चिनेकी डायना सेकेण्ड महोत्तरीको ओरी नगरपालिकाकी २१ वर्षीय युवती रहिछन्। ‘ उसले आज बिहानसम्म पनि ऊ सि‌ंगापुरकै बिलेनियरकी छोरी भनेर विश्वास गरिरहेको थियो’, घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी ओम अधिकारी भन्छन्। प्रहरीले युवतीको साथबाट २० लाख ८० हजार रुपैयाँ बरामद गरेको छ। ‘ बाँकी पैसा डायनाले घरमा बुवालाई पठाइ सकेको रहेछ’, अधिकारी भन्छन्।

प्रहरीको अनुसन्धान प्रारम्भिक चरणमै छ। उसले डायना र श्रीपल दुवैसँग सोधपुछ गरेर पूरा घटनाको केस्रा तयार गरेको छ। ‘तर उनीहरुले भनेका कुरामा शंका गर्ने धेरै ठाउँ छन्। डायना केहीपटक दुवई गएको देखिन्छ यसअघि पनि। उनिहरुबीचको सम्बन्ध पनि पत्याई हाल्ने आधार देखिँदैन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्।

पासपोर्टमा पनि डायना सेकेन्ड नै नाम उल्लेख भएकी यी युवती महोत्तरीको यादब परिवारकी सदस्य हुन्। उनी ललितपुरको बालकुमारीमा बस्दै आएकी थिइन्। प्लस टु अनुत्तिर्ण डायनाका बुबा पेशाले वकिल हुन्। ‘डायना निकै बोल्ड देखिन्छिन्। उनका यी सबै गतिविधि रहस्यमयी देखिन्छन्। यसलाई अनुसन्धानले स्पष्ट पार्दै जाला’, अनुसन्धानमा खटिएका  महाशाखाका एक नायब निरीक्षक-सइ भन्छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डायना भिजिट भिसामा दुबइ पुगेको र त्यहाँ उनले काम गर्ने पनि प्रयाश गरेको पाइएको छ। यसैगरी बिलेनियर भनिएका बाबुको नामको फेसबुक अकाउन्ट पनि आफैले बनाएर आफैले कुरा गरेको हुन सक्ने प्रहरीको अनुमान छ। ‘ ट्वेलेटमा गएको बेला पनि म्यासेज गरेको हुन सक्छ। तर श्रीपल यो पत्याउन सकिरहेका छैनन्’, अनुसन्धान अधिकारी भन्छन्।