कोपा अमेरिका फुटबल २०१९

जोगियो मेस्सीको अर्जेन्टिना, अग्युरोको गोलमा अघिल्लो चरणमा

सुरुका दुई खेलमा खराब नतिजा निकालेका कारण समस्या रहेको अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्न सफल भएको छ ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा समूह बी मा रहेको अर्जेन्टिनाले यसपटकको प्रतिस्पर्धाका लागि आमन्त्रित टिम कतारालई २–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेज र सर्जियो अग्युरोले गोल गरे । चौथो मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले सुरुवाति अग्रता लियो । ८२ औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना २–० ले विजयी भयो ।

पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको थियो । सुरुका दुई खेलको नतिजाले उसलाई अघिल्लो चरण पुग्न समस्या हुने अवस्था आएको थियो ।

तर समूहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० ले हराएपछि अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा तय भएको हो । कोलम्बियाको जितमा ३१ औँ मिनेटमा गुस्ताभो कुएलारले गरेको गोल नै निर्णायक बन्यो ।

लगातार तीन खेलमा जित निकालेको कोलम्बिया समूह विजेता तथा एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार बेहोरेको अर्जेन्टिना चार अंकसहित समूह उपविजेता बन्यो । दुई अंकसहित पाराग्वे तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनाले अन्तिम ८ मा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्