पानीको निकास रोक्ने संरचना बन्दा टुलुटुलु, गाउँ डुबेपछि स्थलगत अवलोकनमा

नेपालगञ्ज – भारतले दशगजामा बनाएको सडकजस्तो बाँधका कारण नेपाली गाउँहरु डुवानमा परेपछि बाँकेका सुरक्षा अधिकारीहरु स्थलगत निरीक्षणमा गएका छन् ।

भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले पानीको प्राकृतिक बहाबलाई रोकेपछि जिल्लाको पूर्वी–दक्षिणी आधा दर्जन बढी गाउँहरु डुवानमा परेपछि सोमबार बिहान प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख एसपी अरुण पौडेल, रेडक्रसका आपतकालिन कक्षका गौरी बुढाथोकीलगायतको टोली नरैनापुर पुगेको हो ।

नेपालगञ्जदेखि ४४ किलोमिटरको दूरीमा रहेको नरैनापुरको कटकुइया जिल्लाको पूर्वी–दक्षिणी अन्तिम विन्दु हो ।

भारतले कटकुइयादेखि पश्चिमतर्फ बिस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण भग्ने पानीको निकास थुन्ने गरेको छ । जसले गर्दा सीमावर्ती नेपाली गाउँहरु डुवानमा पर्दै आएका छन् ।

आइतबार परेको पानीले नरैनापुर गाउँपालिकाको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरु डुवानमा परेका छन् ।

यी गाउँका सय बढी घरहरु डुवानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले जानकारी दिएका छन् ।
नेपालगञ्जमा गएको प्रमुख जिल्ला अधिकारी भुजेल र एसपी पौडेलको टोलीले डुवान क्षेत्रको साथै भारतले बनाएको सडकजस्तो बाँध गरेको असरबारेमा स्थलगत अवलोकन गर्नेछन् ।

एसपी पौडेलले शुरुमा डुवान क्षेत्रमा जाने र त्यसपछि सडकजस्तो बाँधको निकासबारेमा अवलोकन गर्ने जानकारी दिए ।

भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँधले पानीको उचित निकास दिएको छैन । राख्नु पर्ने ठाउँमा कल्भर्टहरु राखिएको छैन । नेपालतर्फबाट बग्ने पानीको निकास रोक्ने नै भारतीयको उद्देश्य देखिन्छ ।

भारतले सन् १९८५ मा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र सन् २००० मा दशगजामा बनाएको कलकलवा तटबन्धले जिल्लाको राप्ती तटीय क्षेत्रका आधा दर्जन गाउँहरु डुवानमा पर्दै आएका थिए ।

पछिल्लो वर्षमा भारतले फेरि दशगजासँगै जोड्याएर सडकजस्तो पक्की बाँध बनाएपछि डुवानको आयतन फैलिएको छ ।

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले जिल्लाको आधा दर्जन गाउँहरुमात्रै डुवानमा पर्थे भने बिस्तार गरिएको सडकजस्तो बाँधले जिल्लाको दक्षिणी सबै गाउँहरुमा डुवानमा पर्ने भएका छन् ।

सडकजस्तो बाँधका कारण नेपालगञ्ज बजार पनि डुवानको चपेटामा रहेको छ । नेपालगञ्जबाट बग्ने पानीको निकास पनि सडकजस्तो बाँधले थुन्ने गरेको छ ।

सन् १९८५ देखि भारतले बनाएको बाँध र कलकलवाका कारण डुवानमा पर्दै आएका बाढीपीडितले नेपाल सरकारलाई पटक पटक सडकजस्तो बाँधको बिस्तार रोक्न आग्रह गरेपनि सरकारले कुनै सुनुवाई गरेको छैन ।

पानीको निकास रोक्ने संरचना निर्माण बन्दा रोक्न नसक्ने र त्यसका कारण नेपाली गाउँहरु डुवानमा परेपछि त्यसको अवस्था अवलोकन गर्न जाने नेपाली अधिकारीहरुको पुरानो परम्परा बर्खाको पहिलो झट्कामै देखिएको छ ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्