सिमकोटमा उडान सुरु भयो, मानसरोवरबाट आएका पर्यटक नेपालगञ्ज फर्किन थाले

हुम्ला, सिमकोट – वर्षाका कारण आइतबार एक दिन अबरुद्ध भएको हुम्लाको हवाई सेवा सुचारु भएको छ । सोमबार बिहान ढिलोगरी मौसम खुलेपछि बन्द हवाई यातायात संचालनमा आएको छ ।
जिल्लामा मनसुन सुरु भएको पहिलो दिन मै हवाई सेवा सुचारु नहुँदा तीन सय भन्दा बढी मानसरोवर कैलाशको तीर्थ यात्रा गरेर फर्केका यात्रीहरु सिमकोट र हिल्सामा रोकिएका थिए । मौसम खुलेसँगै पर्यटकलाई नेपालगंज लैजान थालिएको तारा एयरका सिमकोट सहइन्चार्ज नुर्बु लामाल बताए ।
आइतबार समिट, तारा र सीता एयरमार्फत नेपालगञ्ज जाने तयारीमा रहेका ३०६ जना यात्रु सिमकोट र हिल्सामा रोकिएका थिए । सोमबार बिहान पहिलो लटमा तीन–तीन वटा फ्लाईटमा तारा र सीता तथा दुई फ्लाईटमा समिट उडान भरेर पर्यटक ओसार्न सुरु भएको उनले बताए ।
अब यो क्रम हावा नलागेसम्म जारी रहने नागरिक उड्यान प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सिमकोट विमानस्थलमा मौसमले साथ दिएमा हवाई जहाजले दैनिक ३५ र हेलिकप्टर ८० सम्म उडान भर्ने गरेका छन् ।