प्रधानमन्त्री रोजगार कार्यक्रमले अरिंगाल पाल्ने काम गर्‍यो : कांग्रेस

फाइल तस्विर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री रोजगारी कार्यक्रमले सत्तारुढ नेकपाका कार्यकर्ता पाल्ने काम गरेको आरोप लगाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले बेरोजगारलाई रोजगारी दिने भन्दा पनि कार्यक्रमले पार्टीका कार्यकर्तालाई पालेको बताएका हुन् ।

सुरु हुँदा युवालाई प्रविधिसँग जोड्दै रोजगारीको अवसर सिर्जना हुने आश गरे पनि त्यस्तो नभएको उल्लेख गरे । रसाइलीले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले बाँदर धपाउने, नाली सार्ने, झार उखल्ने जस्ता काम गर्न लगाएर पार्टीका अरिंगाललाई पाल्ने काम गरेको छ ।’

उनले कार्यक्रमको दुरुपयोगबारे छाबिन गर्न सरकारसँग माग गरे । सरकारले चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई अर्ब विनियोजन गरेको छ ।

त्यस्तै नेकपाका सांसद अग्नि सापकोटाले त्रिभूवन विश्वविद्यालयमा भएको विकृति हटाउन सरकारको ध्यानाकर्षण गराए । ‘शिक्षा विकृति र विसंगितको थलो बनेको छ । आफ्ना सन्तानलाई आफूले नै जाँच लिएर पास गराउने, ९ नम्बरलाई ६९ बनाएको खबर सार्वजनिक भएको छ । त्यो के हो?’ पूर्व शिक्षामन्त्री समेत रहेका सापकोटाले भने ।

उनले संसदमा विचाराधीन रहेको पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सचेत हुन आग्रह गरे ।

‘नेपालमा कुनै पनि राम्रो कामको आवरणमा ठूलो चलखेल भइरहेको हुन्छ । पारमाणविक विधेयक भित्रको चलखेल पनि सरकारले बेलैमा बुझोस्’, सापकोटाले भने ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्