रकम अभावले देशभरका स्वास्थ्य संस्थाबाट सुत्केरीले रकम पाउँदैनन्

काठमाडौँ- रकम अभावले  देशभरका अधिकांश स्थानमा सुत्केरीहरु भत्ताबाट बञ्चित भएका छन्।

बजेट भाषणको रकम सम्बन्धित निकायमा तत्काल नपुगेपछि  देशभरका ३३ स्वास्थ्य संस्थामा सुत्केरीहरु भत्ताबाट बञ्‍चित भएका हुन्।

स्वास्थ्य संस्थामा सुत्केरी भएपछि उनीहरुले हिमालमा १५ सय, पहाडमा एक हजार र तराईमा ५ सय भत्ता पाउँदै आएका थिए। सुत्केरी भत्ताका लागि सरकारले गत आर्थिक वर्ष २०७५-७६ मा सरकारले १ अर्ब ७५ करोड छ्ट्याएको थियो। रकम अभावका कारण सुत्केरीलाई भत्ता दिन नसकेको भन्दै विभिन्न अस्पताल तथा स्वास्थ्यलहरुले उक्त महाशाखामा पत्र पठाएका छन्।

यता, आर्थिक वर्ष २०७६/७७ मा सरकारले उक्त रकम वृद्धि गर्दै हिमालमा ३८ सय, पहाडमा २८ सय र तराईमा १८ सय दिने घोषणा बजेटमार्फत गरेपछि भत्ताका लागि रकम अभाव भएको भन्दै स्थानीय स्वास्थ्य संस्थाहरुले सुत्केरीलाई भत्ता नदिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ।

पत्रहरु बढ्न रकम पठाउने प्रक्रिया टुंगिनसकेको महाशाखाका एक कर्मचारीले देशसञ्चारसँग बताए। सन २००९ देखि सरकारले मातृमृत्युदर बढ्दै गएपछि यसलाई कम गर्ने उद्देश्यले सुत्केरी भत्ता विवरण कार्यत्रम सुरु गरेको थियो।

भत्ता पाउँन थालेपछि गर्भवती अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रम बढेको सरकारको दाबी छ । सुत्केरी भत्ताको अभाव भए पश्चिात महाशाखाले केही दिन अघि मात्रै एक सय आठ ठाउँलाई ४६ करोड, तीन सय तीन ठाउँलाई १८ करोड पठाइसकेको छ ।

त्यसैगरी, ३३ ठाउँलाई भने पौने चार करोड रुपैयाँ पठाउने तयारीमै रहेको महाशाखाले जनाएको छ। स्थानीय स्वास्थ्य संस्थाले सुत्केरीको अभिलेख नराख्दा कतिपय ठाउँमा बजेट फ्रिज हुने गरेको महाशाखाले जनाएको छ। पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने चार लाख भन्दा बढी सुत्केरी भत्ता पाउनु पर्ने गर्भवती छन्।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्