दुई वर्ष विदेश बसेर फर्किएका युवा भन्छन्, ‘अब विदेश जादिँन, बरु स्वदेशमै युवालाई रोजगारी दिन्छु´

दाङ-विवाह भएको दुई महिना नहुदै युवराज पौडेल विदेश गए। साउदी अरव उडेका युवराजले २ बर्ष त्यहाँ काम गरे। औषधि पसलमा काम गरेका उनले सेफको काम पनि सिके। घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी धन कमाउन विदेशिए।

विदेशी भूमिमा काम गर्ने उनलाई कुनै रहर थिएन। तर, बाध्यताले उनलाई विदेश पुर्‍यायो। विदेश वसेर फर्केका युवराजले विदेश नजाने अठोट लिएका छन्। र आफ्नै ठाउँमा होटल चलाएका छन्।

यो होटलमा उनले आफू जस्तै विदेशबाट फर्किएका र विदेश जान खोजेकालाइ रोजगारी दिएका छन्।`मलाई बिदेश जाने रहर थिएन । जेन तेन २ बर्ष विताए। त्यहाँ रहदा अलि अलि पैसा पनि कमाइ भयो तर, मलाई आफ्नै देशको मायाले सम्झाइरह्यो´ उनले भने-`विदेशबाट फर्किएपछी होटल खोलें। अव यसैबाट आफ्नै ठाउँमा पहिचान बनाउदै छु।´

साउदी जानूभन्दा अघि चार बर्ष भारतमा काम गरेका थिए युवराजले।`आफ्नो देशमा रोजगारी नपाएपछि भारत छिरियो´उनले भने-`काम संगै सीप सिक्ने अवसर त मिल्यो। तर, त्यहाँ मन अडिएन ।´

उनले लमही-५ मा ग्रिन पार्क कटेज नामको होटल खोलेको ९ महिना पुगेको छ। यो होटलमा उनले आफू जस्तो पाँच जनालाई रोजगारी दिएका छन । राजकुमार चाैधरी मलेसीया बसेर फर्किए।

उनले युवराजले खोलेको कटेजमा वेटरको काम गर्छन।`मलेसिया बसेर फर्किए। अब विदेश नजाने सोचमा छु´चौधरीले भने-`आफ्नै देशमा रोजगारी भए किन विदेश जानू पर्थ्यो र ?´ सरकारले स्थानीय स्तरमै युवालाई रोजगारी सृजना गर्न सके विदेश जाने दर घट्ने युवराजको भनाइ छ ।`रोजगारीको अवसर, लगानीको सुरक्षा हुने हो भने विदेशी भुमिमा रगत पसिना बगाउन पर्दैन। मैले अहिले आफ्नै देशमा संघर्ष गरिरहेको छु´उनले भने-`आफ्नै देशमा संघर्ष गरेपनी लगानी लगाउने स्रोत नहुदा असजिलो पर्दोरहेछ ।´

श्रीमानले आफ्नै ठाउँमा व्यवसाय सुरु गरेपछि श्रीमती वालिका गैरे खुसी छिन।`म पनि उहाँको कामलाई सघाउछु´उनले भनिन-`खुसी छौं। विदेश जान्न भन्नू भएको छ। आफ्नै घरमा बसेको राम्रो।´

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्