सोमबार र मंगलबार नेपालमा विदेशी च्यानलहरु बन्द

काठमाडौ-  क्लिन फिडको विपक्षमा सोमबार र  मंगलबार बिदेशी विज्ञापन बज्ने सबैजसो विदेशी च्यानलहरु बन्द भएका छन्।

काठमाडौँमा पत्रकार सम्मेलन गरी इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएका हुन्। सोमबार अपरान्ह ३ बजेदेखि मंगलबार अपरान्ह ३ बजेसम्म सबै च्यानलहरु बन्द रहने भएका छन्।

सरकारले बिज्ञापन नियमन गर्ने विधेयकमा बिदेशी टेलिभिजन च्यानल क्लीन फीडको रुपमा प्राप्त हुनुपर्ने र बिज्ञापन बजाउन नपाइने प्रस्ताब गरे पछि ब्यबसायीहरु आन्दोलित भएका हुन्। ब्यबसायीहरुले यो ब्यबस्था लागू हुदा आउने परिस्थितिबारे आम उपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रशारण बन्द गर्नु परेको बताएका छन्।

नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ।

प्रस्तावित विज्ञापन ऐन, २०७६’लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने ब्यबसायीहरुले बताएका छन्। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका अध्यक्ष दिनेश सुबेदीले संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट पनि नेपाली जनता वञ्चित हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे।

नेपालमा संञ्चालित डिटीएच, ओपीटभी र ओटीटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसंग मासिक शुल्क उठाउन नसक्ने हुँदा ति कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौको रोजगारी गुम्ने अवस्था श्रृजना हुने जनाएको छ।

नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्