दयाहाङ राई भन्छन्–दिक्क लाग्दालाग्दै नाच्छु

अभिनेता दयाहाङ राई । तस्बिर : रविन आचार्य/देश सञ्चार

अभिनयले सबैको मन जितेका अभिनेता दयाहाङ राई कथा अनुसारका पात्रमा आफूलाई ढाल्छन्। उनी जुन पात्र निभाउँछन् त्यसमा न्याय गरेको प्रतिक्रिया पाउँछन्। राई ‘पात्रलाई जीवन्त बनाउनु नै कलाकारको धर्म हो’ भन्छन्।

पछिल्लो समय चलचित्र क्षेत्रमा व्यस्त अभिनेता राईलाई बेलाबखतमा नाच्नु पनि पर्छ। तर उनलाई नाच्न गाह्रो लाग्छ, भन्छन्, ‘यो त सारै कठिन हो।’

चलचित्रमा काम गर्ने भनेपछि नाच्न परिहाल्छ भन्ने कुराकानी हुन्छ। र चलचित्रमा नृत्य अनिवार्य जस्तै छन्। जब राई नाच्नुपर्छ भन्ने थाहा पाउँछन् तब उनलाई नलगाए पनि हुन्थ्यो जस्तो लाग्छ। ‘तर नाच्नै परिगो नि’ राई भन्छन्, ‘सपनामा नै सकिक्योस् जस्तो लाग्छ, बिहान म उठ्दा खेरी नै नाची सक्कियोस्। तर के गर्नु तीनदिन सम्म त्यही माहोलमा बस्नुपर्छ।’

उनले धेरैपल्ट चलचित्र निर्माता र निर्देशकलाई चलचित्रमा नाच्ने सीनमा ‘मलाई नराख्दिनुस्’ भनेका पनि छन्। तर मान्दैनन्। साथीहरुसँग ग्रुपमा नाच्दा त ठीकै हुन्छ तर छुट्टै त गाह्रो हुन्छ।

लुटको धेरै चलेको गीत ‘उध्रेको चोली’ मा उनको अनुभव यस्तो छ,

‘गम्भीर विष्टले गीतको नृत्य निर्देशन गरेका हुन्, स्टेप दिनुभयो, त्यो स्टेप त मरेपनि आउँदैन थ्यो। फेरि अर्को स्टेप दिन्थे, यो चाहिँ राम्रो छ भन्दै। त्यो पनि आउँदै आउँदैनथ्यो। यसो गर्दा उसो गर्दा बल्ल बल्ल सक्कियो।’

यसमा उनले धेरै कम्मर मर्काउनु परेको थिएन, ठीकै छ भन्ने भयो।

तर त्यसपछि नाच्ने शिलशिला सुरु भयो।

दिपेन्द्र खनालको चलचित्र मिस्टर झोलेमा काम गर्ने सम्झौतामा गीतमा नाच्नुपर्ने थिएन। एक दिन उनले गीत सुनाए, ‘कलेजोको रोग’। सुन्दा दयाले भने, ‘गीत त राम्रो छ ।’

तिमीले नाच्नुपर्छ भनेपछि दयाले हुन्न भनेका हुन्, ‘नराख्नु भने, अनेक गरे तर नाच्नै पर्यो। त्यहाँ देखिबाट के के मा नाचियो।’

उनी थप्छन्, ‘तर कलाकार भएपछि भाग्न मिल्दैन। कथाको पात्र नै भएर, पात्रकै हाउभाउमा नाच्न पाए हुन्थ्यो। पात्र छोडेर नाच्न दिक्क लाग्छ।’
असार १३ बाट प्रदर्शनमा आउँदै गरेको चलचित्र आप्पाको गीत ‘साउने झरी’ मा पनि दयाहाङ बच्चाकै तालमा लच्किएका छन्।

‘बच्चाको स्टेपचाहिँ माबुहाङ चेम्जोङ दाइ हुनुहुन्छ, उहाँले अक्सर गरीरहनुहुन्छ। अनि हाम्रो कोरियोग्राफरले त्यही स्टेप टिपेर राखिदिए।’ केही भाव अर्थाउने नाच नाचेको हो।

अरु बेलामा त्यति नाचेको छैनन्, तर भन्छन्, ‘मेरो धेरै साथीहरुलाई झ्याउ लागेको बेलामा दिल खुस गराउन नाचेको छु, नाच्छु पनि। मैले नाचेको देखेर उनीहरु मुर्छा परेर हाँस्छन्।’

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्