विद्यालय भवन बनाउन नेप्लिज अस्ट्रेलियन एसोसिएसनले कार्यक्रम गर्ने

सिड्नी – अस्ट्रेलियामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) ले नेपालमा विद्यालय भवन बनाउन अर्थ संकलन कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आगामी ३० जुन आइतबारका दिन सिड्नीको अलउडमा रहेको एडिन प्लेसमा हुनेछ ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनले जारी प्रेस विज्ञप्तिमा सन् २०१५ को भूकम्पबाट क्षति भएको नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नम्बर १ मा रहेको गंगादेवी  प्राथमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले यो अर्थ संकलन कार्यक्रम हुन लागेको बताइएको छ ।

एनएएका अध्यक्ष डा. मधु पुडासैनीका अनुसार लायन्स क्लब अफ काठमाण्डौसँगको सहकार्यमा पाँचकोठे विद्यालय भवन निर्माण भैरहेको छ । यसअघि लायन्स क्लब, विद्यालय व्यवस्थापन समिति र एनएए बीच गएको वर्ष सम्झौत भएपछि ३१ हजार अस्ट्रेलियन डलरको सहयोग नेपाल पठाइसकेको छ । थप सहयोगको लागि यो अर्थ संकलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताए ।

अर्थ संकलन कार्यक्रममा कलाकारहरुद्धारा सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पस्किनुका साथै र्याफल र अक्सनको पनि आयोजना हुनेछ । यो कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम विद्यालय भवन निर्माणका लागि नेपाल पठाइनेछ ।

कार्यक्रममा नेपाली दूतावास, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स, न्यु साउथ वेल्स सांसदका उप सभामुख मार्क कुरी, छाया बहुसास्कृतिक मन्त्री तथा सांसद सोफी कोटिस्ट स्थानिय काउन्सिलका काउन्सलरहरुको पनि सहभागिता रहने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि डा. मधु पुडासैनी ०४२३ ०८४ २९७ र ऋषि आचार्यलाई ०४५ २४५ १४८२ मा सम्पर्क गर्न सकिनेछ ।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू