‘सानैदेखि मसँग छोराको गुनासो छ’

पाँच वर्ष अगाडि छोरा जन्मिएपछि मैले आफूमा एका एक परिवर्तन आएको महशुस गरेँ। शायद प्राय पुरुषलाई पहिलो पल्ट पिता बन्दा त्यो अनुभव मिल्दो हो।

अक्सर समस्यादेखि भाग्ने बानी पुरुषको हुन्छ तर आफूले आफूलाई बहादुर चाँही हुँ भन्छन्। यसरी भन्दा नराम्रो सुनिएला तर यो आफैले पालेको रोग हो। पुरुष स्वतन्त्र हुन चाहन्छ, समस्यालाई छाडेर हिँड्न चाहन्छ। समस्यालाई भुलाउन चाहन्छ।

जब श्रीमान हुन्छन्, अलिकति जिम्मेवारी भएको जस्तो हुन्छ, अनि कसैको ‘आप्पा’ भएपछि ह्वात्तै परिवर्तन भइन्छ। त्यो आफैलाई थाहा हुन्न। दार्जिलिङ, कालिङपोङको वातावरणमा बनेको आप्पा चलचित्रमा पनि एक चञ्चले, अल्लारे युवा एकाएक फेरिन्छ। आफ्नो धुनमा मनमगन भएर हिँड्ने ठीटोले सानो बालकको ओठमा मुस्कान भर्न हरसम्भव प्रयत्न गर्छ।

यो कथाका केही अंश मेरो निजी जीवनका पाटाहरु हुन्।

जुन दिनदेखि जिम्मेवारी महशुस हुन्छ, त्यो दिनदेखि उ सुध्रिन्छ। तर महिलालाई पहिलेदेखि नै यस्तो स्कुलिङ्गमा राखिन्छ, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भनेर बन्देजमा राखिन्छ। यो तरिका गलत हो तर उनीहरुलाई धेरै जिम्मेवारीका कुरा सिकाइन्छ। मैले यो कुरा चलचित्र र वास्तविक जीवनमा नै महशुस गरेँ।

जब छोरा बोल्ने बेला भएको थिएन, त्यो बेला हामी आँखाले कुरा गर्थ्यौँ। उसको निर्दोष आँखाले मलाई हेर्दा मलाई के के प्रश्न गरेजस्तै लाग्थ्यो, ‘मलाई कसरी हुर्काउँछस्। अथवा मलाई के बनाउने सोचेको छस् ?’ ती गजबका आँखाले त्यो भाव दिन्थे, असीमित खुशीको अनुभूति बेग्लै।
आफू पिता हुनुले ‘आप्पा’ को पात्र बन्न सघायो र पात्रले मलाई वास्तविक जीवनको पाठ पनि सिकाएको छ।

मैले मेरो बाबाको अनुहार हेर्दाखेरी ‘उहाँले मेरो लागि केही पनि गरेनन्’ भन्थे। जब म आफै बाबा भएँ, थाहा भयो आफ्नो सन्तान ‘बाबु र छोरा बिचमा जहिले पनि गुनासो रहिरहन्छ।’ त्यो गुनासो मेटाउन सकिन्न, मेटिँदा पनि मेटिन्न।

यो सिनेमाले बाबु–छोराको यही सम्बन्धको व्याख्या गर्छ। मेरो बाबाप्रति धेरै प्रश्नहरु थिए, शायद बाबाका पनि धेरै प्रश्न थिए होलान्। हामीले एक अर्कालाई त्यो प्रश्न कहिले गर्न पाएनौँ, अहिले मेरो बाबा हुनुहुन्न।

मेरो छोरा पनि सानो छ, उसँग पनि मेरो बारेमा थुपै प्रश्नहरु छन् होला।

हामी सँगै हुँदा उसले मलाई लिस्ट देखाउँछ, बाबा यहाँ जानुपर्छ, यो गर्नुपर्छ।

बाबा कहिले जाने ?, उसले प्रश्न गर्छ ।

मेरो उत्तर, छुट्टीमा ।

छुट्टी कहिले हुन्छ ?, फेरि प्रश्न ।

हुन्छ, भन्दैमा अड्काइ राखेको हुन्छु। सानो उमेरमा नै उसलाई मसँग धेरै गुनासोहरु होलान्। महशुस हुन्छ तर गुनासो मेटाउन सकिँदैन। शायद सम्बन्धहरु यस्तै नै हुन्छन् होला।

(अभिनेता दयाहाङ राईसँग देश सञ्चारकी सुजाता खत्रीले गरेको कुराकानीमा आधारित । राई अभिनित चलचित्र आप्पा यहि असार १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।)

असार १०, २०७६ मा प्रकाशित