विदेशमा उपचार गर्न जानेलाई रोक्ने कानुन छैनः मन्त्री यादव

फाइल तस्बिर।

काठमाडौँ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भइरहेको बताउका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शिर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न बर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाइरहेको बताए ।

उनले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दे आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भईसक्ने दाबी गरे ।

नेपाल लगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तिब्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निशुल्क गराएको र किड्नी ट्रान्सप्लाण्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए ।

त्यसैगरी क्यान्सर लगायतका ८÷ ९ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउदै आएको पनि स्पष्ट पारे ।

उनले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानुनी व्यवस्था नभएको स्पष्ट पारे । उनले भने, ‘विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान पनि छैन । व्यवस्था पनि छैन । विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागु भईसकेको कुरा निवेदन गर्न चाहन्छु । ”

उपचारका लागि विदेश जाने प्रचलन देखिएको भएपनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि संभव भएको भन्दै उनले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गरे ।

सांसहरुले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठुलो रकम खर्च भएको भन्दै सांसदहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले स्वास्थ्य मन्त्रालय अन्र्तगतका कर्मचारी समायोजनको समस्या चाडै समाधान गर्ने प्रयास भईरहेको स्पष्ट पारे ।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्