२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

सुर्खेत-२५ हजार रुपैयाँ घुस रकमसहित सल्यानमा मंगलबार एक कर्मचारी पक्राउ परेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख (शाखा अधिकृत) धन बहादुर वली घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले वलीलाई कार्यालय परिषरबाटै रङ्गेहात पक्राउ गरेको सुर्खेतस्थित कार्यालयका सूचना अधिकार मेगनाथ सापकोटाले बताए।

इकाइ प्रमुख वलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै घुस रकम माग गरेका थिए।

सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा सुर्खेतबाट अख्तियारको टोली सल्यान पुगेको थियो।

अख्तियारको सुर्खेतस्थित कार्यालयका अनुसार वलीलाई सेवाग्राहीसँग पच्चीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

अख्तियारको टोलीले वलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्