विश्वकपबाट बाहिरिए अलराउन्डर रस्सेल, वेष्ट इन्डिज थप समस्यामा

घाइते भएपछि आन्द्रे रस्सेल। फाइल तस्विर

लन्डन : वेष्ट इन्डिजका अलराउन्डर आन्द्रे रस्सेल इङ्ल्यान्ड र वेल्समा जारी एकदिवशीय विश्वकपबाट बाहिरिएका छन्। घुँडाको चोटका कारण रस्सेलले प्रतियोगिताबाट विदा लिनु परेको हो।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा पाकिस्तानसँग खेल्नेक्रममा रस्सेल घाइते भएका थिए। रस्सेलले सन् २०१५ को एकदिवशीय विश्वकपपछि खेलेको त्यो केवल दोस्रो एकदिवशीय अन्तर्राष्ट्रिय खेल थियो। रस्सेल आफ्नो करियरमा लगातार घुँडाको चोटले समस्यामा पर्दै आएका छन्। अस्ट्रेलियाविरुद्धको खेलमा उत्रिएका रस्सेलले चोटका कारण दोस्रो स्पेल सुरु गर्न सकेका थिएनन्।

उनले इङ्ल्यान्डविरुद्ध दुई र बंगलादेशविरुद्ध ६ ‌ओभर मात्र बलिङ गरेका थिए। न्युजिल्यान्डविरुद्धको खेलमा चोटकै कारण उनी मैदान उत्रन सकेका थिएनन्। रस्सेल गत इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सबाट सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान थिए।

जारी प्रतियोगितामा वेस्ट इन्डिजले ६ मध्ये केवल एक खेल जितेको छ।

उसले पहिलो खेलमा पाकिस्तानसँग जित हात पारेयता विजय प्राप्त गर्न सकेको छैन। प्रतियोगिताको सेमिफाइनल पुग्ने उसको सम्भावना निकै कम छ। प्रतियोगिताअन्तर्गत उसले आगामी खेलमा बिहीबार भारतसँग खेल्दै छ।

 

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्