प्रतिपक्षीको अवरोध देखाएर आफ्नै सासंदसँग तर्किदै सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार स्थगित भइरहेको छ। असार ११ गते (भोलि बुधबार) का लागि तोकिएको बैठक पनि स्थगित गरिएको छ ।

असार ५ गते प्रतिपक्षी दलका प्रदेश सदस्यहरुको अवरोधपछि स्थगित भएको प्रदेश सभाको बैठक त्यसपछि बस्न सकेको छैन् । यसअघि असार ८ गते बिहानका लागि तोकिएको बैठक समेत स्थगित गरिएको थियो।

असार ८ गतेको बैठक स्थगित भएपछि ११ गतेका लागि तोकिएको बैठक सञ्चालन गर्न सभामुख अर्जुनबहादुर थापाले निकै प्रयास गरे पनि अन्तिममा आएर बैठकसमेत स्थगित गरेका छन् ।

प्रतिपक्षी दलका प्रदेश सदस्यहरुले अवरोध गरेपछि उनीहरुसँग छलफल गर्नका लागि पटकपटक बैठक स्थगित गरिदै आएको बताइएको छ । बैठक स्थगित गरिनुको कारण प्रतिपक्षी प्रदेश सभा सदस्यहरुको अवरोधलाई बताइए पनि सत्तापक्षकै सांसदहरुले सभामा गर्ने विरोध थेग्न सक्ने अवस्थामा सरकार नरहेका कारण बैठक स्थगित गरिदै आएको छ ।

सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सभामुख थापा सित सदन स्थगित गरिदिन आग्रह गरेपछि असार ११ गतेको प्रदेश सभा बैठक पनि स्थगित गरिएको छ ।

सूचना जारी गर्दै प्रदेश सभा सचिवालयले १२ गते दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएको छ ।

मंगलबार बैठक स्थगित भएको जानकारी पाएपछि प्रतिक्रिया दिँदै सत्तापक्षीय एकजना सांसदले संसदीय दलको बैठकमा गरेको प्रतिबद्धता बिपरित आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट बिनियोजन गरेको र योजना बनाएको भेटिएकोले विरोध सदन मै हुने स्थिती देखेपछि आर्थिक मामिला मन्त्रीले बैठक स्थगित गर्न लगाएको बताए ।

असार ५ गते प्रतिपक्षीको अवरोधले सदन स्थगित भएको र सत्तापक्षले प्रतिपक्ष सित छलफल गर्न समय नपाएकोले फेरी एक पटक बैठक स्थगित गरी सदन भन्दा बाहिर नै सहमतिको प्रयासका लागि बाताबरण बनाउन आग्रह गरेपछि आफुले एक दिनका लागि बैठक स्थगित गरेको सभामुख थापाले जानकारी दिए ।

सरकारले प्रतिपक्षीसँग छलफल हुन नसकेको भन्दै बैठक स्थगित गरिरहे पनि आफ्नै सांसदलाई विरोध नगर्न पार्टी हाइ कमाण्डबाट निर्देशन गराउने र त्यसपछि मात्रै सदन सञ्चालन गर्ने मनस्थितिमा रहेका छन् । प्रदेश सभाले पारित गरेको सुशासन ऐनको मर्म विपरित बजेट आएको सत्तापक्षीय सांसदको आरोप छ ।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्