एक दिवसीय विश्वकप क्रिकेट

आयोजक इंग्ल्याण्डलाई हराएर अस्ट्रेलिया शीर्षस्थानमा, फिन्चको शतक

जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलिया शीर्षस्थानमा पुगेको छ र उसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली इंग्ल्याण्ड अस्ट्रेलियासँग ६४ रनले पराजित भएको हो ।

२८६ रनले लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर चार बलमा सबै विकेट गुमाएर २२१ रन मात्रै बनायो । उसका लागि बेन स्टोक्सले ८९, जोनी बेयस्टोले २७, क्रिस वोक्सले २६ तथा जोस बट्लर र अदिल रशिदले समान २५–२५ रन बनाए ।

अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो । अस्ट्रेलियाका जेसन बेहरेनडोर्फले पाँच तथा मिचेल स्टार्कले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको अस्ट्रेलियाले सात विकेटको क्षतिमा २८५ रन बनायो । उसका लागि कप्तान एरोन फिन्चले शतकीय पारी खेले । फिन्चले ११६ बलमा १०० रन बनाए । यस्तै डेविड वार्नरले ६१ बलमा ५३ रन बनाए । स्टिभन स्मिथ र एलेक्स केरीले समान ३८–३८ रन बनाए ।

जितपछि सात खेलबाट १२ अंकसहित अस्ट्रेलिया शीर्षस्थानमा पुगेको छ । पराजित भएको इंग्ल्याण्ड चौथो स्थानमा कायम छ ८ अंकसहित, तर उसलाई अन्तिम चारमा स्थान बनाइ राख्नका लागि भने अबका खेलमा राम्रो गर्नु पर्ने हुन्छ । उसलाई बंगलादेशले चुनौती दिइरहेको छ ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्