अमेरिका–इरान सम्बन्ध

इरानको प्रतिक्रियाले भड्किए ट्रम्प

अमेरिकाले नयाँ प्रतिबन्ध लगाउँदै इरानमाथिको आर्थिक प्रतिबन्धलाई थप कडा बनाएपछि दुई देशबिचको सम्बन्धनमा थप फाटो आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी लक्षित नयाँ प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।

त्यसको जवाफमा इरानले ह्वाइट हाउस मानिसक रुपमा अशक्त अर्थात मेन्टल्ली रिटार्डेड भएको बतायो । इरानका राष्ट्रपति हसन रुहानीले नयाँ प्रतिबन्धनले ट्रम्प नेतृत्वको ह्वाइट हाउसको मानसिक अवस्था कमजोर रहेको पुष्टि गरेको बताएका हुन् ।

इरानको प्रतिक्रियाबाट अमेरिकी राष्ट्रपति ट्रम्प रुष्ट भएका छन् । उनले इरानको प्रतिक्रिया अपमानजनक रहेको बताएका छन् । इरानको प्रतिक्रियाले त्यहाँका नेताले परिस्थितिको गाम्भीर्यता नबुझेको प्रष्ट हुने ट्रम्पले ट्वीटमा उल्लेख गरेका छन् ।

अमेरिकाले नयाँ प्रतिबन्ध अमेरिकी ड्रोन खसालेको प्रतिफल रहेको बताएको छ । इरानको सम्पूर्ण गतिविधिका लागि अन्ततः सर्वोच्च नेता खामेनी नै जिम्मेवार हुने भएकाले उनलाई निशाना बनाएर प्रतिबन्ध लगाएको अमेरिकाले बताएको हो ।

इरानले गएको हप्ता अमेरिकाको एउटा गुप्तचर ड्रोनमा आक्रमण गरेर खसालेपछि दुई देशबिचको तनाव उत्कर्षमा पुगेको हो । आफ्नो हवाई सीमामा प्रवेश गरेकाले ड्रोन खसालेको इरानले बताएको छ ।

त्यसअघि गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको थियो । इरानले आरोप अस्वीकार गरे पछि साउदी अरेबियाले पनि इरानकै संलग्नता रहेको उल्लेख गरेको थियो ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्