अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

काठमाडौँ – अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्य भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

चौरपाटी गाउँपालिका २ मुलीमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नम्बर २ का रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेका अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद गम्भीर घाइते छन् । मृतक र घाइते सबै स्थानीय दशपल्ले मावि सोकटमा अध्यनरत छात्र छात्रा रहेको प्रहरीको भनाई छ ।

घाइते विद्यार्थीलाई उपचारका लागि चौरपाटी स्थित स्वास्थ्य संस्थामा लगिएको छ । वडा नम्बर ३ डुग्रीबाट बालुवा लिन वडा नम्वर २ तर्फ आउँदै गरेको ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा ३०–४० विद्यार्थी चढेको बुझिएको छ । उनीहरु विद्यालय गइरहेका बेला बाटोमा ट्याक्टर भेटिएपछि ट्याक्टरमा चढेको बुझिएको छ ।

मृतक सबैको उमेर १४ देखि १६ वर्षको रहेको छ । रमेश एसईईको परीक्षा दिएर नतिजाको प्रतिक्षामा थिए ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्