नेपालको लिग च्याम्पियन मनाङलाई जितको भोक, भारतको चेन्नइन अन्तिम अवसर

सहिद स्मारक ए डिभिजन लिगको खेलमा गोल गरेपछि उत्साही मनाङका खेलाडी। (फाइल तस्बिर)

काठमाडौं : एएफसी कप फुटबलअन्तर्गत पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अहिले भारतीय क्लब चेन्नइनसँग खेलिरहेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेल गोलरहित बराबरीको स्थितीमा छ। चेन्नइनको मैदानमा भएको खेलमा मनाङ २-० गोलले पराजित भएको थियो। प्रतियोगितामा मनाङले एक खेल पनि जित्न सकेको छैन।

उसले तीन हार र दुई बराबरीको नतिजा निकालेको छ। भारतीय क्लब मीनर्भासँग भएका दुवै होम एन्ड अवे खेल बराबरीमा सकिएको थियो। त्यसबाहेक बंगलादेशको अबहानी लिमिटेडसँग भएका होम एन्ड अवे खेलमा मनाङ पराजित भएको थियो। मनाङ अघिल्लो खेलमा अबहानीसँग ५-० गोलले निराश भएको थियो।

प्रतियोगितामा मनाङले ११ गोल ब्यहोरेको छ भने तीन गोल मात्र गरेको छ। चार टोली रहेको समूहको विजेता मात्र दोस्रो चरण पुग्ने भएकाले मनाङको यात्रा अघिल्लो खेलको नतिजा लगत्तै टुंगिएको थियो।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्