मदिरा पिएर गाडी चलाउँदा ६ घाइते, एकको आइसियूमा उपचार हुँदै

पोखरा-भारतीय गाडीको ठक्करबाट पोखरामा ६ जना घाइते भएका छन्। भारतीय कार चालकले मदिरा पिएर पोखराको लेकसाइड क्षेत्रमा सवारी चलाउँदा दुर्घटना भएको हो।

उक्त कारले ३ मोटरसाइकल, १ ट्याक्सी र १ स्कुटीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते हुनेहरु मध्ये ३ जनाको सृजनाचोक स्थित मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको छ।

बाँकी ३ जनालाई सामान्य चोट लागेको छ। उनीहरुको मेडिकलमा उपचार भएको छ।

कार चालक ३६ वर्षीय अजय बराल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए। बराल विगत १५ वर्षदेखि भारतमा कार्यरत रहँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी अर्घाखाँची सितगंगा नगरपालिका ८, निवासी हुन्।

पोखराको लेकसाइड चिल्लीबार नजिकै हल्लनचोकबाट पामेतर्फ जाँदै गरेको भारत हरियाणा राज्यको एचआरओ ९ एल ०००९ नम्बरको गाडीले विपरित दिशाबाट आएको पल्सरलाई सुरुमा ठक्कर दिएको हो।

ग१६प ९९५९ पल्सर मोटरसाइकल चालक पोखरा २३, कार्कीतहराका ३३ वर्षीय ईश्वर नेपालीका अनुसार उनलाई अगाडिबाट कारले ठक्कर दिएको बताएका छन्।

नेपालीको शरीरको विभिन्न भागमा चोट देखिएको छ।दाहिने घुँडामा गम्भीर चोट लागेको छ भने, अन्य भागमा थप परीक्षण पछि पत्तो लाग्ने हस्टिपलमा उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।

उनीसाथ मोटरसाइकलमा सवार पोखरा १८, भकुण्डे निवासी ८३ वर्षीय पदमबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। प्रत्यक्षदर्शी र उद्दारमा खटिएका बिमल पहारीका अनुसार गुरुङको टाउकोमा चोट लागेको छ।

उनलाई तत्कालै उद्दार गरी सृजनाचोक स्थित मेट्रोसिटी हस्पिटल पुर्‍याइएको थियो।हाल उनको आइसियु कक्षमा राखी उपचार गरिरहेको छ। उपचारमा संलग्न चिकित्सका अनुसार उनको टाउको रगत जमिसकेको हुनाले अवस्था गम्भीर भएको जानकारी दिएका छन्।

त्यस्तै, कारले पल्सर पछि होन्डा कम्पनीको स्पलेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो।मोटरसाइकल चालक पोखरा ३२ तल्लो गगनगौडा बस्ने ५२ वर्षीय नुरुल शाह घाइते भएका छन्।

उनको दाहिने खुट्टा भाँचिएको र अप्रेसन गर्नुपर्ने उपचारमा संलग्न हस्पिटलका डा निलकण्ठ लामिछानले जानकारी दिए।शाह सवार ग१३प १५२८ नम्बरको मोटरसाइकल समेत क्षतविक्षत भएको छ।

अन्य घाइते हुनेहरुमा पोखरा ७, मासबार बस्ने २३ वर्षीय रिगु कुमार रहेका छन्।उनी भारतीय नागरिक हुन्।पेन्टिङ पेसामा आबद्ध रिगुका अनुसार कारले अकस्मात सोरेर लतारेको सुनाए।उनी सवार ग७प १३४७ नम्बरको टिभिएच अपाची मोटरसाइकलमा क्षति पुगेको छ।

अन्नपूर्ण गाउँपालिका ८ निवासी २६ वर्षीया सुनिता अधिकारी समेत सामान्य घाइते भएकी छन्।उनी सवार ग१५प ८६२६ नम्बरको डियो स्कुटीमा क्षति पुगेको छ।

कारले १ ट्याक्सीलाई समेत ठक्कर दिएको थियो।ठक्करबाट ट्याक्सी चालक मदन नेपाली सामान्य घाइते भएका छन्।उनको ग१ज २७८६ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ।कारले अन्यलाई ठक्कर दिएको हुन सक्ने शंका प्रहरीले गरेको छ।

साथै, कार धनी हरियाणाका मेहर पटेललाई समेत हिरासतमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता केसीले जानकारी दिए।
‘डिकं एन्ड ड्राइभ’ संलग्न चालक अजय बराल र सवारीलाई ठक्कर दिएर भागेको केही मिनेटमै सेदीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।उनीहरु भारतदेखि पोखरा घुम्नका लागि आएको हुन्।

कार चालक अजय बरालको मेडिकल परीक्षण रिपोर्ट आएपछि मदिरा पिएकोबारे पुष्टि हुने प्रवक्ता केसीले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्