ठेकेदारप्रति माधव नेपालको आक्रोश: समयमै सडक पूरा गर्नुहोस् भनेर कतिपटक भन्ने?

काठमाडौँ– चाबहिल–जोरपाटी–साँखु सडकमा एक हप्ताभित्र देखिने गरी काम गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

गत वर्ष नै निर्माण सकिनु पर्ने चाबहिल–जोरपाटी–साँखु १३ किलोमिटर सडक यस वर्ष पनि हिलो र धुलोले आक्रान्त बनेका स्थानीयले आन्दोलन थालेपछि बुधबार मन्त्री महासेठले अब पनि बहानाबाजी नचल्ने भन्दै निर्माण व्यवसायीलाई तुरुन्त देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

नेता नेपालले भौतिक पूर्वाधारमन्त्री महासेठ, सांसद सरिता न्यौपाने, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कागेश्वरी मनहारा र शंखरापुर नगरपालिकाका मेयर र उपमेयरसहित जनप्रतिनिधिहरु, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दालाई राखेर छलफल गराएका हुन्।

काठमाडौँ–२ बाट निर्वाचित सांसद एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सक्रियतामा नलिङ रिसोर्टमा बुधबार भएको छलफलमा नेपाल र मन्त्री महासेठले स्थानीय जनप्रतिनिधिसँग समन्वन गरेर तत्काल सडक पिच गर्न निर्माण व्यवसायीलाई कडा निर्देशन हुन्।

सडक निर्माणमा चासो नदिएको भन्दै सोमबार शंखरापुर नगरपालिकाको नगरसभामा भाग लिन साँखु पुगेका नेकपाका वरिष्ठ नेता समेत रहेका नेपाललाई स्थानीय बासिन्दाले बाटो छेक्दै उनीविरुद्ध नाराबाजी गरेका थिए

घटनापछि गम्भीर बनेका नेता नेपालले चाबहिल साँखु सडकका कारण आफूसमेत बद्नाम हुने अवस्था आएको भन्दै निर्माण व्यवसायीमाथि खनिए । उनले भने, ‘यो सडक समयमै पूरा गर्नुहोस् भनेर कतिपटक भन्ने? तपाईहरुसँग बनाउने क्षमता छैन भने किन ठेक्का लिएको? तुरुन्त छोड्नुहोस् । तपाईंहरुका कारण हामीसमेत बद्नाम हुने अवस्था आयो ।’

चावहिलदेखि साँखुसम्मको १३ किमि सडक पाँच खण्डमा विभाजन गरेर सडक विभागले युनाइटेड बिल्डर्स, बज्रगुरु, च्याङमिला, खानीजेभी र बिरुवाजेभीलाई दुई वर्षभित्र पूरा गर्ने गरी २०७२ असोजमा ठेक्का सम्झौता गरेको थियो । दुईपटक थपिएको समयमा समेत सडकको लगभग ५० प्रतिशत मात्र काम भएको छ ।

पाँचवटै ठेक्काको दोस्रोपटक थपिएको समय सकिएकाले तेस्रोपटक थपका लागि प्रक्रिया अघि बढेको महानिर्देशक शर्माले जानकारी गराए ।

युनाइटेड बिल्डर्सका प्रमु्ख शकुन्तालालाल हिराचनलगायतका निर्माण व्यवसायीले अदालतको आदेश, स्थानीयको अवरोध, वर्षाका कारण समयमा काम गर्न नसकेको जिकिर गरे ।

गत वर्ष साउन २४ गते नेता नेपाल, मन्त्री महासेठ, तत्कालीन महानिर्देशकलगायतले सडकको अनुगमन गर्दै तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएका थिए । अनुगमनपछि मन्त्री महासेठले भदौ १२ पछि जोरपाटी–साँखु सडकमा खाल्डा नदेखिने घोषणा गरेका थिए ।

मन्त्रीको घोषणाअनुसार सडकको अवस्थामा कुनै सुधार नआएपछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । वैशाखमा बौद्ध बासीले समयमै सडक पिच गर्न माग गर्दै बन्द गरेका थिए भने केहीदिन अघि थलीबासीले पनि सडक अवरुद्ध गर्दै राँके जुसुल नै निकालेका थिए ।

थलीवासीले निर्माण व्यवसायीसँग भएको सात दिनभित्र काम गर्ने सहमति कार्यान्वन नभएको भन्दै फेरि आन्दोलनको चेतावनी दिएका छन् ।

आआफ्नो क्षेत्रमा काम गर्ने गरी बुधबार सडक निर्माणमा भएका समस्या समाधान गर्न कागेश्वरी र शंखरापुर नरपालिकाका मेयर कृष्णहरी थापा र सुवर्ण श्रेष्ठको संयोजकत्वमा दुईवटा समिति बनाइएको छ ।

निर्माण व्यवासयीले बुधबारदेखि नै काम गर्ने र एक हप्तापछि नेता नेपाल, मन्त्री महासेठ, महानिर्देशकसहितको टोलीले स्थलगत अनुगमन गर्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिए ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्