छोराछोरी लागू पदार्थको दुर्व्यसनमा फसेको कसरी थाहा पाउने?

यदि तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस्- उनीहरु लागुपदार्थको दुव्यर्सनमा फसेका हुन सक्छन्।

पछिल्लो सरकारी तथ्यांक अनुसार १ लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या रहेको र त्यसमध्ये ७ प्रतिशत महिला छन्। प्रतिवर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु यो संख्या दुई लाखभन्दा बढी रहेको दाबी गर्छन्। गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागू पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन। नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पनि लागुपदार्थको दुर्व्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको जनाएको छ। अभिभावकले आफ्ना छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनु पर्नेमा ब्युरोको जोड छ।

गृह मन्त्रालय, लागुऔषध नियन्त्रण कार्यक्रम इकाइले पनि आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उनिहरुको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिएको छ। छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्नेमा इकाइले जोड दिएको छ । दुर्व्यसनीका लागि विभिन्न संघ संस्थाले हाल तीन सयभन्दा बढी पुनःस्थापना केन्द्र सञ्चालनमा रहेका छन्।

बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ।

नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ। सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ।

लागुऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको प्रहरीको अनुभव छ। नेपाललाई विशेषतः लागुऔषधको बिक्रीभन्दा पनि अपराधीले ‘ट्रान्जिट’ का रुपमा प्रयाग गर्ने गरेको तथ्यहरुले देखाएका छन्।

कोकिन ल्याटिन अमेरिकी मुलुक हुँदै आउने र ‘आइस ड्रग’ हङकङ, थाइल्यान्ड हुँदै नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरिएको छ।

संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड भन्दाबढी लागुऔषध दुर्व्यसनीमा छन्। त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुने गर्छ। विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन्।

के हो लागू लागुऔषध दुर्व्यसन ?


कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाईमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ। जसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ।

अफिम, मर्फिन, कोडिन, हेरोइन, पेथेडिन, मेथाडोन जस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन्।

त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिन जस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो।

झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन्।

छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको संगतबाट टाढा राख्ने, धूम्रपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्