दशगजामा भारतको बद्‌मासी

सडक जस्तो बाँधले डुबानको जोखिममा नेपाली गाउँ

भारतले दशगजामा बनाएको सडक जस्तो पक्की बाँध र नेपालबाट गएको पानीको निकास दिन राखिएको कल्भर्ट।तस्बिर-कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्‍ज-भारतले अन्तर्राष्ट्रिय मान्यता विपरित दशगजामा सडकजस्तो बाँध निर्माण गरेपछि सीमावर्ती गाउँका नेपालीले त्यसको चर्को विरोध गरे। लक्ष्मणपुर बाँध संघर्ष समितिले विरोधीहरुको अगुवाई नै गरेर प्रमुख जिल्ला अधिकारीदेखि मुख्यमन्त्री हुँदै प्रधानमन्त्रीसम्म सडकजस्तो बाँधको निर्माण रोक्न दौडधुप गर्‍यो।

कतैबाट सुनुवाई भएन। उनीहरुले ज्ञापनपत्र बुझाएको संख्यामात्रै बढ्दै गयो।चप्पल लगाएका गाउँले र त्यसमा पनि बाढीपीडितका कुरा कसले सुनुन् ? यो मुद्दामा सुकिलामुकिला सहभागी थिएनन्।र, अहिलेसम्म जोडिएका छैनन् पनि।

वर्षौदेखि डुवानमा परेका, बर्खामा कम्तीमा एक महिना त्रासमा बाँच्न विवश राप्ती तटीय क्षेत्रका बासिन्दाले भारतले सडकजस्तो बाँध निर्माण गर्दा अब हामीमात्रै होइनौ, जिल्लाका सबै मानिस डुवानमा पर्छन्, यसलाई रोक्न सबै सहभागी हुनुपर्छ भनिरहेकै थिए। किनकी, राप्ती तटीय क्षेत्रका बासिन्दा त भारतले सन् १९८५ मा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र सन् २००० बनाएको कलकलवा तटबन्धले डुवान, कटान र पटानको चपेटामा परिरहेकी छन्।

साविकका होलिया, बेतहनी, कम्दी, फत्तेपुर, गंगापुर, नरैनापुर गाविस डुवान, कटान र पटानको चपेटामा परेका छन्। लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म त्यस क्षेत्रमा चार हजार विगाह बढी खेतीयोग्य जमिन मरुभूमि भइसकेको छ।

लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्लाले भने, भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले गर्दा हामीहरु डुवानमा छौ।पछिल्लो वर्षदेखि दशगजामा बिस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणीभेगका सबै मानिस डुवानको जोखिममा छन्।यसबारेमा हामीले सचेत गरायौं।शासकहरुले हाम्रो कुरा सुनेका छैनन् ।’

बर्खामा पहिलो पटक गत आइतबार यस क्षेत्रमा परेको पानीले नरैनापुरका आधा दर्जन गाउँ डुवानमा परेपछि राज्यको अलिकति ध्यान सडकजस्तो बाँधमा परेको छ।भारतले एकतर्फी बनाएको सडकजस्तो पक्की बाँधका कारण नरैनापुरका आधा दर्जन गाउँहरु डुबेका थिए।

डुवान भएको भोलीपल्ट प्रमुख जिल्ला अधिकारी मदन भुजेल घटनास्थलमा पुगे।प्रजिअ भुजेल भारतले नाकामा बनाएको सडकजस्तो बाँधले पानीको निकास रोकेपछि नेपाली गाउँ डुवानमा परेको आफ्नै आँखाले हेरेर फर्किएका छन्।नरैनापुरको डुवान त कास्टिङमात्रै हो, फिल्म त अझै बाँकी नै छ।अर्थात, बर्खा त अझै कहाँ शुरु भएको छ र ?

भारतले दशगजामा बनाएको सडकजस्तो बाँधका कारण नेपाली गाउँ डुवानमा परेपछि प्रतिनिधि सभामा सांसद महेश्वर गहतराजले भनेका छन्, ‘भारतले नेपाललाई माछा पोखरी बनाउने भयो।’ सांसद पूर्णाकुमारी सुवेदीले पनि प्रतिनिधि सभाको शून्य समितिमा राप्ती नदीको दुवै किनारमा पक्की तटबन्ध बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

वास्तवमा अहिले लक्ष्मणपुर र कलकलवा भन्दा पनि सडकजस्तो बाँधले पूरै निकास रोकिदिएको छ।नेपालका खोला, नालाका पानीलाई सडकजस्तो बाँधले रोकेको छ।भारतले नेपालीको आँखामा छारो हाल्न ‘अपायक’ ठाउँहरुमा साना साना कल्भर्ट बनाएको छ।

सडकजस्तो बाँधमा ठल्ठूला कल्भर्ट नै बनाइदिने हो भने पनि डुवानको जोखिम उच्च हुने थिएन।ठूलो पानी परिनसकेकाले स्थानीय तहका प्रमुख, प्रदेश र केन्द्र सरकारको ध्यान त्यो सडकजस्तो बाँधमा पुगेको छैन।

केही दिन लगातार ठूलो पानी पर्ने बित्तिकै नेपालगञ्ज नै डुवानमा पर्ने जोखिम रहेको छ।नेपाली शहर र गाउँहरु डुवानमा परिसकेपछि अलिअलि हल्लाखल्ला गर्ने अधिकारीहरुको बानी नै रहेको छ।यसपाली पनि नरैनापुरको घटनाले त्यस्तो देखाइसकेको छ।

भारतले नेपालको दक्षिण सीमामा एक हजार सात सय ५१ किलोमिटरमै सडकजस्तो बाँध बनाएको छ।त्यसले पानीको प्राकृतिक बहाव रोक्ने र नेपाली भूभाग डुवानमा पर्ने निश्चित रहेको छ। यस विषयमा सरकारले बेलैमा ध्यान दिन जरुरी रहेको छ।

भारतले अन्तर्राष्ट्रिय सन्धी सम्झौता विपरित नाकामा संरचना बनाउदै जाने र त्यसबारेमा नेपाल सरकार चुप बस्ने स्थितिले कालान्तरमा सांसद गहतराजले भनेझै नेपालको दक्षिणी भाग ‘माछा पोखरी’ नै बन्ने संकेत देखिएको छ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्