टिप्पणी

कविद्वयको गिरफ्तारीले संकेत गरेको खतरा

बुधबार दिउँसो प्रहरीले कविद्वय संगीत श्रोता र रसुवाली कवि (ठाकुरप्रसाद तिमिल्सिना) लाई गिरफ्तार गर्‍यो। उक्त गिरफ्तारीविरूद्ध पत्रकार र साहित्यकारहरू अनामनगर वैद्यखानास्थित प्रहरी कार्यालयमा पुगेरै विरोध जनाएपछि प्रहरीले दुवैलाई एकैसाथ रिहा गर्‍यो।

ओली सरकारको पालामा कवि-पत्रकार गिरफ्तार भएको यो पहिलो घटना होइन। तर यो गिरफ्तारीले सरकार निरंकुशतातर्फ बढ्दै गरेको संकेत गर्छ। यो प्रकरणलाई यसरी केलाउन सकिन्छः

विज्ञापन

१)  नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा २० को न्यायसम्बन्धी हकको उपधारा १ मा उल्लेख छः

‘कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा राखिने छैन।’

अर्थात्,

कोही पनि व्यक्तिले पक्राउ पर्ने बेलामा आफु के कति कारणले गिरफ्तार भइँदैछ जान्ने अधिकार राख्छ। त्यसैले पक्राउ पूर्जी बिना पक्राउ गर्नु असंवैधानिक र गैरकानुनी हो।

प्रहरीले दुवै कविलाई बिना पक्राउ पुर्जी पक्राउ गर्यो। संगीत श्रोतालाई गिरफ्तार गर्दै गर्दा सँगै रहेका पत्रकार दिपक सापकोटाले सोध्दा ‘तँलाई किन चाहियो’ भन्ने जस्तो गैरजिम्मेवारपूर्ण जवाफ दिइयो।

यसले प्रहरी प्रशासनको स्वेच्छाचारीपन बढ्दै गएको संकेत गर्छ।

के प्रहरी मनपरी गिरफ्तार गर्न छुटप्राप्त छ ? के सरकारले उसलाई यस्तो छुट दिएको हो ?

यदि यही प्रवृत्ति कायम रहने हो भने हरेक नागरिक जुनसुकै बेला बिना जानकार पक्राउ परिने डरमा बस्नुपर्ने हुन्छ।

के ओली सरकार यही त्रास सिर्जना गर्न चाहन्छ ?

२) माथि उल्लेखित धारा २० कै उपधारा २ मा उल्लेख छ – ‘पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ।’

दुवै कवि पक्राउ पर्नासाथ फोन सम्पर्क गर्न रोक लगाइयो। कानून व्यवसायी त के साथीहरूलाई समेत खबर गर्न दिइएन।

यसले प्रहरीले गिरफ्तारीलाई गुमराहमा राख्न चाहन्छ भन्ने संकेत गर्‍यो।

यो निकै डरलाग्दो संकेत हो। सुपरिचित पत्रकार एवं कविलाई गिरफ्तार गर्दा त प्रहरीको यस्तो रवैया छ भने आमसञ्चारमा पहुँच नराख्नेहरूलाई गिरफ्तार गर्दा के गर्ला ?

३) पक्राउका सन्दर्भमा प्रहरीले झुठ बोलेको छ।

पहिलो झुठः देशसञ्चार अनलाइनमा प्रकाशित समाचार अनुसार ‘काठमाडौं प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले सोधपुछका लागि रसुवाली कविलाई नियन्त्रणमा लिँदा सँगै रहेका संगीत श्रोतालाई पनि सिंहदरबार वृतमा लगिएको र पछि उनलाई छाडिएको’ बताए।

 

विप्लवसँग आबद्ध भएको आरोपमा नियन्त्रणमा लिइएका कवि संगीत श्रोता छुटे

 

रसुवाली कविलाई पक्राउ गरेको एक घण्टा पछि मात्र संगीत श्रोता पक्राउ परेको संगीत पक्राउ पर्दा सँगै रहेका पत्रकार दिपक सापकोटा जनाउँछन्।

अवश्य पनि रसुवाली कवि विप्लव निकट भएको आरोपमा पक्राउ परेर २९ दिने हिरासतपछि छुटेका हुन्। उनलाई पुनः पक्राउ गर्नुको औचित्य त्यतिमै साबित हुँदैन।

एक, विप्लव पार्टी प्रतिबन्धित भएता पनि सरकारले त्यसमा सहभागी हुन नपाउने गरी सूचना जारी गरेको छैन। नेपालको संविधान अनुसार शान्तिपूर्ण तरिका अपनाउँदासम्म राजनीतिक गतिविधमा सहभागी हुन पाइन्छ (धारा १७, स्वतन्त्रताको हक)।

दुई, रसुवाली कविलाई जुन आरोपमा पहिले गिरफ्तार गरिएको थियो त्यो पुष्टि नभएकैले रिहा गरिएको हो। त्यसैले उनको पुनः गिरफ्तारी पनि पुष्टि हुँदैन।

रसुवाली कविभन्दा एक घण्टापछि काठमाडौंको व्यस्त प्रदर्शनी मार्ग अघि घेराबन्दी गरेरै संगीत श्रोतालाई गिरफ्तार गरिएको हो। त्यसैले प्रहरी प्रवक्ता बोगटीले सफेद झुट बोलेका छन्।

के प्रहरीले संगीतको गिरफ्तारी नियोजित होइन भन्ने देखाउन चाहेको हो ? वा चौतर्फी दबाबपछि बहाना बनाइएको हो।

दोस्रो झुठः

देशसञ्चारमै प्रकाशित अर्को समाचार अनुसार संगीत श्रोतालाई रिहा गरेपछि मात्रै रसुवाली कविलाई रिहा गरिएको हो।

समाचारमा उल्लेख छः ‘चौतर्फी दबाबलगत्तै प्रहरीले संगीत श्रोतालाई छाडेको थियो भने रसुवाली कविलाई पनि छाड्ने तयारी भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।’

 

चौतर्फी दबाबपछि ‘ब्याक’ सर्‍यो प्रहरी, संगीत श्रोतापछि रसुवाली कविलाई पनि छाड्ने तयारी

 

स्पष्ट होउँ, प्रहरीले दुवै कविलाई एकै पटक रिहा गरेको हो पत्रकार महासंघका उपाध्यक्षद्वय दिलिप थापामगर र विपुल पोखरेल एवं केन्द्रीय सदस्य टेकराज थामीको रोहवरमा। नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा, सम्पादक उमेश चौहान, नेपाल लाइभका सम्पादक नारायण अमृत, स्तम्भकार उज्जवल प्रसाई लगायतका पत्रकार, लेखक र कविहरू त्यहाँ उपस्थित थिए।

दुवैलाई फरक-फरक समयमा रिहा गरेको झुठ फैलाएर प्रहरीले रसुवाली कविलाई कारणवश र संगीत श्रोतालाई भुलवश गिरफ्तार गरिएको मिथक सिर्जना गर्न खोजेको छ।

तर, तथ्यहरूले त्यसलाई झुठ नै सावित गर्छन्। दुई कविलाई बेग्लाबेग्लै समयमा पक्राउ गरिएको हो र एकैपटक रिहा गरिएको हो। बरू प्रहरी प्रशासनले ‘झुक्किएर गिरफ्तार गरिएको’ जनाएको हो।

 

सन्त्रासः

राजधानीमै सक्रिय र सुपरिचित पत्रकार एवं कविलाई बिना पक्राउ पुर्जी गिरफ्तार गरेर संविधानको उल्लंघन मात्र गरेको छैन आम नागरिकमा सन्त्रास सिर्जना गरेको छ।

दुवै कवि वर्तमान ओली सरकारका आलोचक हुन्। उनीहरूलाई गिरफ्तार गरेर सरकारले एउटा सन्देश दिन खोजेको छ भनेर नबुझ्नका लागि सरकारी तवरबाटै विश्वस्त पार्नुपर्छ। नभए एकपछि अर्को गरेर कवि-लेखकलाई गिरफ्तार गर्ने सरकारलाई मुर्दावाद किन नभन्नु ?

गिरफ्तार गर्ने सरकारलाई मुर्दावाद किन नभन्नु ?

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू